विराटनगरमा कोरोना संक्रमित वृद्धाको उपचारका क्रममा मृत्यु
(विराटनगर) विराटनगर महानगरपालिका–१४ जतुवा घर भएकी कोरोना भाइरस संक्रमित ७२ वर्षीया वृद्धा महिलाको उपचारका क्रममा शुक्रबार बिहान मृत्यु भएको छ । विराटनगरस्थित कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रको आइसोलेसनमा उपचाररत उनको बिहान ११:५८ बजे मृत्यु भएका केन्द्रका प्रमुख एवं वरिष्ठ फिजिसियन डा. दीपक सिग्देलले जानकारी दिए ।
सिग्देलका अनुसार स्वाब संकलन गरेर पीसीआर परीक्षण गराउँदा वृद्धालाई असोज ५ गते कोरोना पुष्टि भएको थियो । रिपोर्ट पोजिटिभ आएसँगै चिन्ताजनक अवस्थामा कोभिड अस्पतालमा भर्ना गरिएकी वृद्धालाई धेरै प्रयास गर्दा पनि बचाउन नसकिएको उनको भनाइ छ ।
सिग्देलका अनुसार केन्द्रमा भर्ना गर्दा बिरामी महिलामा उच्च रक्तचाप, श्वासप्रश्वाससँगै झाडापखालाको समस्या थियो । बिरामीको दुवै मृगौलामा पुरानै समस्या रहेको जानकारी उनले दिए ।