दिल्लीविरुद्ध पन्जाब ५ विकेटले विजयी
(काठमाडौं) किंग्स इलाभेन पन्जाबले आईपीएल क्रिकेटमा लगातार तेस्रो जित हासिल गरेको छ । पन्जाबले मंगलबार दुबईमा भएको खेलमा दिल्ली क्यापिटल्सलाई पाँच विकेटले हराएको छ ।
पन्जाबले दिल्लीले प्रस्तुत गरेको १६५ रनको विजय लक्ष्य एक ओभर बाँकी रहँदा हासिल गर्यो । पन्जाबको टप स्कोरर निकोलस पुरनले ५३ रन योगदान गरे । दिल्लीका शिखर धवनको शतक खेर गयो । दिल्लीका लागि धवनले नटआउट १०६ रन बनाएका थिए । त्यसैले उनलाई म्यान अफ द म्याच चुनियो ।
आईपीएलको जारी १३ औं संस्करणमा पन्जाबको यो चौथो जित हो । दिल्लीले भने तेस्रो पटक हार व्यहोर्नुपर्यो । जितसँगै पन्जाब अंक तालिकाको पाँचौ स्थानमा पुगेको छ । पन्जाबको शुरुआत राम्रो थिएन । कप्तान केएल राहुल १५ रनमै आउट भएका थिए । उनलाई तेस्रो ओभरमा दिल्लीका अक्षर पटेलले आउट गरे ।
तेस्रो नम्बरमा ब्याटिङमा आएका क्रिस गेलले सुरुवात राम्रो गरे तर २९ रनमा आउट भए । उनलाई छैटौं ओभरमा रविचन्द्र आश्विनले बोल्ड गरे । यसै ओभरमा मयंक अग्रवाल रनआउट भए । उनले ५ रनमात्र बनाउन सके ।
तेस्रो विकेट गुम्दासम्म पन्जाबको स्कोर ५६ रन थियो । पन्जाबमाथि दिल्ली हाबी हुन लागेको संकेत देखिएको बेला निकोलस पुरनले पन्जाबको स्कोर उकासे । उनले २८ बलमा ५३ रन जोडे । ग्लेन म्याक्सवेलले ३२ रन योगदान गरे । दीपक होडा १५ र जिम्मी निशम १० रनमा नटआउट रहे ।
बलिङतर्फ कागिसो रबाडाले २ विकेट लिए ।