परीक्षणमा सहभागी व्यक्ति बिरामी भएपछि जोन्सन एन्ड जोन्सनले रोक्यो कोरोना खोपको क्लिनिकल ट्रायल
जोन्सन एन्ड जोन्सन कम्पनीले कोभिड -१९ खोपको क्लिनिकल ट्रायल अस्थायी रूपमा रोकेको छ ।
सोमबार कम्पनीले कोभिड-१९ को क्लिनिकल ट्रायलमा सहभागीमा 'अस्पष्ट बिमारी' देखिएको भन्दै खोप परीक्षणलाई तत्कालको लागि रोकिएको बताएको हो। कम्पनीले गोपनीयताको लागि भन्दै बिमारीबारे थप खुलाउन चाहेन ।
'हामीले परीक्षणमा सहभागी भएका व्यक्तिको गोपनीयताको कदर गर्नुपर्छ,' कम्पनीले जारी गरेको विज्ञप्तिमा भनिएको छ,'हामी बिमारीबारे धेरै जानकारी लिँदैछौं किनकी थप सूचना सार्वजनिक गर्नुपूर्व हामीसँग सबै तथ्य हुनु महत्वपूर्ण हुन्छ।'
खोप परीक्षण गराएका बिरामीलाई निर्देशिकाअनुसार इन्डिपेन्डेन्ट डाटा सेफ्टी मोनिटरिङ बोर्ड (डिएसएमबी)सँगसँगै कम्पनीका आन्तरिक क्लिनिकल र सुरक्षाका फिजिसियनहरूले समीक्षा र मूल्याङ्कन गरिरहेका छन् ।
कम्पनीले दशौं-हजार सहभागी हुने यस्ता ठूला परीक्षण तत्कालका लागि रोकिनु सामान्य भएको बताएको छ ।
यसअघि सेप्टेम्बरमा आष्ट्राजेनेकाको ट्रायल पनि यसैगरी रोकिएको थियो। खोप परीक्षणमा सहभागी भएका बेलायती व्यक्तिमा अस्पष्ट बिमारी देखिएको भन्दै उसले ट्रायल रोकेको थियो । यद्यपी अहिले बेलायत, ब्राजिल, दक्षिण अफ्रिका र भारतमा परीक्षण पुन: सुचारू भइसकेको छ । तर अमेरिकामा भने नियामक समीक्षा गर्न बाँकी रहेको भन्दै रोकिएको छ ।
गत महिना जोन्सन एन्ड जोन्सन कम्पनीले आफूले उत्पादित कोभिड-१९ को प्रयोगात्मक खोपले कोरोना भाइरसविरूद्ध लड्न बलियो प्रतिरक्षा प्रणाली बनाएको दाबी गरेको थियो । त्यसपछि कम्पनीले ६० हजार जनामा खोप परीक्षण गराएको थियो । त्यसको नतिजा यस वर्षको अन्त्य वा सन् २०२१को सुरूवातीमा आउने बताइएको छ ।
तेस्रो चरणमा पुगेको चार वटा खोपमध्ये जोन्सन एन्ड जोन्सनको खोप पनि एक हो । अमेरिकामा परीक्षण भइरहेको ६ वटा खोपमध्ये एक खोप यस कम्पनीको पनि हो ।