लकडाउनमा स्कुल बन्द भएपछि शिक्षक बने उद्यमी
डडेल्धुराको अमरगढी- ५ का रामशरण रोका ३७ वर्षका भए । १० वर्षदेखि उनी शिक्षण पेसामा कार्यरत छन् । यो पेसाबाटै उनको दैनिकी राम्रैसँग चलिरहेको थियो ।
कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणको प्रयासमा सरकारले गत ११ चैतबाट देशव्यापी लकडाउन घोषणा गर्याे । डडेल्धुराको एक निजी विद्यालयमा अध्यापन गराइरहेका उनलाई लकडाउन भएपछि भने दैनिकी चलाउन समस्या हुन थाल्यो ।
लकडाउनले विद्यालय बन्द भएपछि उनले विकल्प खोज्न थाले । पहिले पोखरामा बस्ने भएकाले राशरणका त्यहाँ थुप्रै साथी छन् । कोरोनाका कारण बेरोजगार भएको समयमा एक दिन उनको पुराना साथीहरूसँग फोनमा कुराकानी भयो । साथीहरूको सुझाव र इन्टरनेटको सहायतबाछ उनी आफ्नै ठाउँ डडेल्धुरामा चप्पल उद्योग खोल्न तयार भए ।
रामशरण अहिले डलेडेल्धुरा सदरमुकामको विद्युत् रोड छेउमै चप्पल उद्योग खोलेका छन् । ‘सफल चप्पल उद्योग’ नाम दिएर उनले सो उद्योग चलाएका हुन् । ८ लाख लगानी गरेर विराटनगरबाट मेसिन तथा चप्पल बनाउन प्रयोग हुने कच्चा पदार्थ ल्याएर उत्पादन रामशरणले उद्योग सञ्चालन सुरु गरेका हुन् ।
