बेपत्ता प्रहरीको शव माेहना नदीभित्र गाडिएको अवस्थामा भेटियो
(धनगढी) शनिबारदेखि बेपत्ता रहेका कैलालीको जुगेडास्थित अस्थायी प्रहरी चौकीमा कार्यरत प्रहरी जवान रामबहादुर साउँदको शव मंगलबार मोहना नदीमा पानीभित्र बालुवामा गाडेको अवस्थामा भेटिएको छ ।
उनीसँगै बेपत्ता चौकी इन्चार्जको हत्या गरि नदीभित्र फ्याँकिएको अवस्थामा आइतबार शव फेला परेको थियो ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक दानबहादुर रोकायाका अनुसार साउँदलाई हत्या गरी शव मोहना नदीभित्र बालुवाभित्र गाडिएको अवस्थामा फेला परेको हो । जवान साउँदको शव इन्चार्ज असई गोविन्द विकको शव भेटिएको स्थानभन्दा झण्डै ३ मिटर टाढा भेटिएको रोकायाले बताए ।
धनगढी नजिकै रहेको जुगेडा क्षेत्रमा भारतीय क्षेत्रबाट चोरी तस्करी हुने मुख्य नाका हो । तस्करहरुप्रति आक्रामक स्वभावका इन्चार्ज विकसहित साउँद गस्तीमा खटिएकै बेला बेपत्ता भएका थिए । उनीहरु दुवै जनाको धारिलो हतियारले टाउकोमा प्रहार गरि हत्या गरेर मोहना सीमा नदी मोहनामा फ्याकिएको प्रहरीको भनाइ छ । घटना भएकै दिनदेखि खोजी कार्यमा शसस्त्र प्रहरीसहित ठूलो संख्यामा सुरक्षाकर्मी परिचालित थिए ।
प्रहरीले अनुसन्धानका क्रममा स्थानीय १३ जनालाई पक्राउ गरेको जनाएको छ । पक्राउ गरिएकैहरुमध्ये केहीको घटनामा संलग्नता रहेको हुनसक्ने प्रहरीको भनाई छ । ‘गहिरो अनुसन्धान भइरहेको छ’ इन्सपेक्टर रोकायाले भने, ‘संलग्नहरु चाँडै पत्ता लाग्छन् ।’ घटनाको अनुसन्धान गर्न सिआइबी लगायत प्रहरीका विभिन्न टोली खटिएका छन् ।