बाङ्ग्लादेशमा बलात्कारीलाई मृत्युदण्डको सजाय हुनसक्ने नयाँ कानुन
बाङ्ग्लादेशमा कानुन संशोधन गरी बलात्कारको अपराधमा अधिकतम सजायका रूपमा मृत्युदण्ड दिन सकिने प्रावधान राखिएको छ ।
सरकारले सोमवार यस विषयमा औपचारिक निर्णय गरेको हो। कानुनमन्त्री अनिसुल हकले उक्त संशोधित कानुन राष्ट्रपतिबाट मङ्गलवार जारी हुने र तत्काल लागु हुने बताए। गत साता एउटी महिलाको सामूहिक बलात्कार गरिएको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएपछि देशव्यापी विरोधप्रदर्शन सुरु भएको थियो।
विद्यार्थी, महिला अधिकारको क्षेत्रमा कार्यरत सङ्घसंस्था र अन्य मानिसहरूले राजधानी ढाकामा प्रदर्शन गरेका थिए। धेरैले गृहमन्त्रीको राजीनामा र बलात्कारीलाई मृत्युदण्ड दिइनुपर्ने माग राखेका थिए। प्रधानमन्त्री शेख हसिनाको नेतृत्वमा सोमवार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले कानुन संशोधन गर्ने प्रस्ताव स्वीकृत गर्दै अध्यादेशबाट नयाँ कानुन ल्याउने निर्णय गरेको हो।
अहिले संसद्को सत्र नचलेकाले त्यसो गरिएको मन्त्री हकले बीबीसीलाई बताए।
यो निर्णयको चारैतिर स्वागत हुने अपेक्षा गरिएको भए पनि बलात्कारपछि पीडित महिलाको हत्या हुने क्रम झन् बढ्ने डर पनि व्यक्त भएको बताइन्छ।
कसरी भयो घटना?
बेगमगन्जमा खिचिएको भिडिओमा देखिएका आक्रमणकारीहरूमध्ये एक जनालाई ती पीडित महिलालाई बलात्कार गरेको आरोप लागेको थियो। गत वर्ष ती महिलालाई ती आरोपित व्यक्तिले बन्दुक देखाएर बारम्बार बलात्कार गरेको राष्ट्रिय मानवाधिकार आयोगले गरेको अनुसन्धानमा देकिएको ह्यूमन राईट्स वाचले जनाएको छ।
विरोध गरे वा भनेको नमाने उनलाई ती व्यक्तिले सामूहिक बलात्कार गर्ने धम्की दिने गरेको आयोगका अनुसन्धान निर्देशकले बताएका छन्। ती महिलाका अनुसार आफूसँग गरिएको दुराचारको भिडिओ खिचेर उक्त व्यक्तिले एक महिनासम्म धम्की दिँदै पैसा दिन र यौन सम्पर्क गर्न दबाव दिएका थिए।
तर उनले उनीहरूले भनेको नमानेपछि भिडिओ सार्वजनिक भयो।
बाङ्ग्लादेशको दूरसञ्चार नियामक निकायले उक्त भिडिओलाई अनलाइन माध्यमबाट हटाउने निर्णय गरेको भए पनि त्यो व्यापक रूपमा फैलिएको थियो । ती महिलाले आफ्नो जीवन तहसनहस भएको भन्दै आफ्ना छोराछोरीबारे आफू चिन्तित भएको स्थानीय सञ्चारमाध्यमलाई बताएकी थिइन्।
उक्त घटनामा संलग्न भएको आरोपमा केही व्यक्तिहरू पक्राउ परेका भए पनि प्रदर्शनकारीरहरूले देशमा हुने यौन आक्रमणलाई सरकारले गम्भीरतापूर्वक लिनुपर्ने माग राखेका थिए।