१३ अर्ब खै सरकार!
सन २०१९ को उत्तरार्ध बाट सुरु भएको कोभिड १९ नामाकरण गरिएको नयाँ विषाणु ले आज को मिति सम्म विश्वका सम्पूर्ण मानव भूगोल स्वास्थ र आर्थिक महामारी को चपेटामा परेको कुरा हरेक व्यक्तिले महसुस गरेकै छ। पछिल्लो समय मा यस महामारी ले स्वास्थ र आर्थिक क्षेत्र संग सँगै सामाजिक र सामाजिक अनुभूतिको क्षेत्रमा गम्भीर असर गर्न थालिसकेको छ, फलस्वरूप नेपाल मा हामीले भन्ने गरेका छौं सरकार! तेह्र अरब खोइ? सरकार भन्छ, तेर्ह्र अर्ब कोरोना महामारी व्यवस्थापन मा निकासा र खर्च भै सक्यो। हामी फेरि भन्छौ, सरकार तेर्ह्र अरब खोइ?
यो श्रृङ्खला जारी रहनु भनेको कोरोना बाट स्वास्थ र आर्थिक क्षेत्र पछि सामाजिक र सामाजिक अनुभूति को क्षेत्रमा असर पर्न थाल्नु हो। यो कुरा यँहा गरिरहदा हाम्रो देश मा कोरोना संक्रमित को संख्या करिव पचास हजार पुग्नै आँटेको छ भने निको हुनेको संख्या करिव तीस हजार अनि मृत्यु हुनेको संख्या करिब तीनसय। यो संख्या मा कतिपय तपाईं हामी, हाम्रा नातागोता, परिचित व्यक्त अवश्य परेको छ, त्यसैले हामी भन्छौं, सरकार! १३ अर्ब खोई? हो म पनि भन्छु खोइ? अब यसको उत्तर खोज्नु जरुरी छ, नत्र कोरोना बाट हाम्रो सामाजिक अनुभूति को पुनपरिभाषा सुरु हुन्छ।
यसै परिस्थिति मा मेरा एकजना नजिक का नातेदार वर्ष ७८ का पुरुष सदस्य लाई यही भदौ ४ गते कोरोना संक्रमण भएको पुष्टि भयो। वहाँ लागि महोत्तरी बाट उच्च रक्तचाप र पुरानो दम रोग ले च्यापेको हुनाले उहाँ को छोरा र ज्वाइँ ले उपचारकालागि काठमाडौं ल्याउने क्रम मा धुलिखेल हस्पिटल मा नै उपचार गर्नु पर्ने भयो,उपचार को क्रम मा विश्व स्वास्थ संगठन को समसामयिक उपचार पद्धति मापदण्ड अनुसार कोरोना परीक्षण गर्दा कोरोना पोजिटिभ देखिए पछि हस्पिटल ले आफ्नो सम्पूर्ण जिम्मा मा उपचार सुरु गरी सँगै आएका छोरा र ज्वाइँ लाई नौ दिन त्यही नजिक को कवारेन्ताइन मा पठाइ नौ दिन पश्चात कोरोना टेस्ट गर्दा वाँहा हरुको रिपोर्ट नेगेटिभ आयो। उता हस्पिटल ले बिरामीलाई भेन्टिलेटर मा राखी उपचार सुरु गर्यो। यन्तिन्जेल सम्म हस्पिटल का डाक्टर, नर्स कर्मचारी हरु बिरामी का छोरा, छोरी, उपचारक, कुरुवा सबै को भुमिका पूरा गरे। दिन मा दुईपल्ट फोन मार्फत बिरामीको अवस्था बारे आफन्त जो टाढा हुनुहुन्थो वहां हरुलाई जानकारी गराइन्थ्यो। यही क्रम जारी रह्यो। तर २०७७/०५/ २० गते शनिवार विहान करिव सात बजे मेरो फोन को घण्टी बज्यो र बिरामीका छोराले आफ्ना बुवा यो संसार मा नरहेको सूचना हस्पिटल बाट प्राप्त भएको जानकारी मलाई अश्रुमिश्रत स्वर मा जानकारी गराए। म एक छिन अवाक भएँ। सरकार १३ अरब खोइ? आखिर सामाजिक अनुभूति बाट म पनि अछुतो थिइन्। यस घटना भन्दा अगाडि मेरा पूर्व विद्यार्थी गंगालाल मुटु रोग उपचार केंद्र बाँसबारी का सिनियर नर्स को फोन ले मेराे फोन को घण्टी बजेको थियो। वाँहा आफू कोरोना भाइरस बाट संक्रीम भै आफ्नै हस्पिटल मा करिव १८ दिन को उपचार पश्चात घर फर्कनु भएपछि मलाई फोन गर्नु भएको रहेछ। वहाँ को पहल वाक्य थियो - सर! म कोरोना संक्रमित भएँ। मैले जवाफ दिन सकिन। एकछिन पछि समालिदै बेलीबिस्तार सुनाउन आग्रह गरेँ, उपचार को क्रम मा डाक्टर, सहकर्मी नर्स बाट पाएको उपचार,मनोबल उच्च पार्ने व्यवहार , हस्पिटल बाट गरिएको उपचार व्यवस्थापन खर्च आदि का बारेमा सुने। तत्पश्चात् घर फर्की सकेपछि समाज र छिमेकी हरु को व्यवहार र अनुभूति पनि सोधें सुने। वहाँ प्रति समाज ले गरेको व्यवहार सुन्दा मेरो कान मा फेरि गुन्जियो, सरकार! १३ अर्ब खोइ? भन्ने सामाजिक अनुभूति। हस्पिटल मा उपचाररत मेरा आफन्त को मृत्यु को खबर भदौ २० गते बिहान ७ बजे सुने। अनि मेरो मानसपटलमा अनेकौं कुरा खेल्न थाल्यो।अब मृत शरीर कसरी व्यवस्थापन गर्ने, सामाजिक सहयोग पाइन्छ कि पाईदैन भन्ने कौतुहलता का साथ आफन्त र मित्र हरुसंग फोन मा कुरा गर्न थालियो।कतै बाट पनि सहयोगात्मक आवाज सुनिएन। आखिर समस्या र चुनौती संग त एक्लै जुध्ने हो। मृतक का छोरा संग धुलिखेल हस्पिटल को संपर्क नम्बर मागेर डायल गरे।
उता बाट एक महिला स्वर सुने। बिस्तारै मृत्यु को आधिकारिकता बारेमा पुष्टि हुन खोजे। ती महिला ले अत्यन्त जिम्मेवारी पूर्वक जानकारी दिनु भयो। हामी मध्ये एक जना आफन्त मृतक को शरीर विश्व स्वास्थ संगठन को मापदण्ड अनुसार प्याक गर्नु भन्दा अगाडि हस्पिटल पुग्नु पर्ने थियो। हामी सबै काठमाडौं को विभिन्न स्थानमा थियौँ। त्यसकारण मैले हस्पिटल प्रशासनलाई केही समय पर्खी दिन आग्रह गरेँ त्यहाँ बाट अत्यन्त जिम्मेवार पूर्ण जवाफ आयो। फेरि मेरो कान मा सामाजिक अनुभूति गुन्जियो - सरकार!१३ अर्ब खोइ? मृतक संग भौतिकरुपमा भेटघाट नभएको दुई वर्ष भन्दा बढी भैसकेको थियो। निषेधाज्ञा बिच बिरामी भएको र उपचार भै रहेको समाचार पाएको थिएं। बिरामी भेट्ने अनुमति थिएन। मृत्यु पश्चात लास भेट्ने अनुमति पनि पाइएन। यसमा कुनै गुनासो छैन। गुनासो थियो, सरकार!१३ अर्ब खै।
मृतक का भतिज लास को आधिकारिकता पुष्टि गर्न धुलिखेल हस्पिटल लागे। हामी यतै पर्खाइ मा थियौँ। यसै बेला लास लाई पशुपति आर्यघाटमा ल्याई सदगत गर्ने खबर पाइयो, त्यसैअनुसार को समय व्यवस्थापन गरी घरबाट नस्कियौ। लास लाई पूर्ण सुरक्षा र सम्मान का साथ अगाडि नेपाल प्रहरी एकभ्यान सुरक्षा कर्मी बिच मा कोभिद १९ सब व्यावस्थापन लेखिएको सब बाहान पछि सेनाको एक गाडी सहित धुलिखेल देखि आरयघाटसम्म सव ल्याएर विद्युतीय सव दाह गृह मा पी पि ई लगाएका सेनाका जवान हरुले सैनिक सलामी का साथ सव राखी सके पश्चात ति प्रहरी र सैनिक कर्मचारी आफ्नो गन्तव्य तिर प्रस्थान गर्नु भयो। यी सबै दृश्य हरु हामी आफन्तले करिव सय मीटर टाढा को दूरी बाट आ आफ्नो मोबाइल क्यामेरा जुम बाट कैद गरी रहेका थियौँ। अगी पछि सामान्य अवस्थामा मृतक का आफन्त ले जसरी सव व्यवस्थापन गर्छ त्यसो गरी नै नेपाली सेना र नेपाल प्रहरीका जवान हरुले सव व्यवस्थापन गरेको देख्यौं।
अनि फेरि मेरो कान मा गुन्जियो, सरकार! १३ अर्ब खोइ? करिव एक घण्टा २५ मिनेट पछि घाट का कर्मचारी हरु ले सव को जलन भै सकेको जानकारी दिनु भयो त्यस पश्चात हामी अा आफ्नो निवास तिर लाग्ने तरखर गर्दै थियौँ। अनायास मेरो मस्तिष्क मा एक प्रश्न आयो, घाट मा शुल्क तिर्नु पर्दैन? पर्दैन। १८ दिन भेन्टिलेटर मा राखेको उपचार खर्च तिर्नु पर्दैन? अँह पर्दैन। बिरामी सँगै आएका दुई जानको स्वाब परीक्षण खर्च तिर्नु पर्दैन? नौं दिन क्वारेन्टाइन मा बसेको खर्च तिर्नु पर्दैन? अँह पर्दैन। उपचार मा खटिएका डाक्टर, नर्स को खर्च तिर्नु पर्दैन? त्यो पनि पर्दैन।सव व्यवस्थापन मा खटिएका सेना र प्रहरी जवान को खर्च तिर्नु पर्दैन? अहं पर्दैन। सबै खर्च सरकार के भुक्तानी गर्छ। अनि म फेरि भन्छु, सरकार १३ अर्ब खोई?
खोई ? खोई!!!!