बल्खु तरकारी बजारका व्यापारी पक्राउ
बल्खु तरकारी बजार होलसेलको एसके सप्लायर्स र चुली सगरमाथा इन्टरप्राइजेजका सञ्चालक सुनिल केसीलाई महानगरीय प्रहरी वृत्त कालिमाटीले पक्राउ गरेको छ।
बुधबार बिहान काठमाडौं महानगरपालिकाले बल्खु तरकारी बजार अनुगमन गरेको थियो।
अनुगमनका क्रममा प्रतिकिलो ४८ रुपैयाँमा खरिद गरेको प्याज १ सय २० मा बेचेको पाइएपछि व्यापारी सुनिल केसीलाई महानगरीय प्रहरी वृत कालिमाटीको जिम्मा लगाइएको अनुगमनमा गएका उपभोक्ताकर्मी माधव तिमल्सिनाले जानकारी दिए।
उनकाअनुसार दुई वटा पसलको गरेर २ सय १९ बोरा प्याज सिल गरिएको छ।

अन्य व्यापारीलाई भने उपभोक्ता संरक्षण ऐनअनुसार कारबाही गर्न वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागलाइ सिफारिस गरिएको छ।
विभागले कालिमाटी फलफूल तथा तरकारी बजारका ६ जना प्याज व्यापारीलाई कागजपत्र लिएर विभागमा आउन सूचना दिएको छ।
बजारमा प्याजको मूल्य एक्कासी बढेपछि विभागले मंगलबारदेखि कालिमाटी तरकारी बजारमा अनुगमन गरेको थियो।

अनुगमनमा जाँदा प्याजको थोक मूल्य प्रतिकिलो ५७ देखि ९० र खुद्रा मूल्य एक सयदेखि १ सय १० सम्म लिएको उजुरी आएपछि विभागले ३ वटा खुद्रा पसल र तीन वटा थोक पसलका व्यापारीलाई कागज पत्रसहित विभागमा आउन आदेश दिएको छ।चाडबाडको बेला विशेषगरि विभागले ७७ वटै जिल्ला प्रशासन कार्यालयमा अनुगमन तीव्र पार्न पत्र काटिसकेको विभागले जानकारी दिएको छ।