रातो मच्छिन्द्रनाथलाई बुङ्मती पुर्याइँदै
( काठमाडौं,२९ भदौ ) सोमबार रातो मच्छिन्द्रनाथलाई बुङ्मती पुर्याइँदैछ। यसअघि भदौ १८ गते रथ यात्राका क्रममा पुल्चोकमा स्थानीय र प्रहरीबीच झडप भएपछि रथ यात्रा स्थगित भएको थियो। रथयात्रा स्थगितपछि ज्योतिषीले आजका लागि शुभसाइत जुराएका थिए।
वैशाख शुक्लपक्षको शुभसाइतमा निकाल्नुपर्ने रथ यात्रा यस वर्ष कोभिड– १९ महामारीका कारण रोकिएको थियो। लामो समय रथ तान्ने विषयमा केही निर्णय हुन नसकेपछि भदौ १८ गते स्थानीय केही युवाहरूले प्रशासनको अनुमति बिना रथ तानेका थिए। सोही क्रममा प्रहरी र युवाबीच झडप भएको थियो।
युवाहरूले रथ राखिएको ठाउँबाट तानेर केही पर पुर्याएका थिए। त्यसपछि स्थानीय ज्यापु समाजले क्षमा पूजा गरी रथ तानेर सोह्रखुट्टे पाटीसम्म पुर्याएका थिए।
यसवर्ष नरिवल खसाल्ने र भोटो देखाउने कार्यक्रम आयोजना गरिएन। रातो मच्छिन्द्रनाथलाई बुङ्मती पुर्याएको चार दिनमा विशेष पूजाआजा गरी जात्रा पर्व समाप्त गरिने कार्यक्रम छ।