तिजका बर्तालुले घर घरमै देवादिदेव महादेवको पूजा आराधना गरी हरितालिका तिज पर्व मनाउँदै
कोरोनाको भाइरसको सङ्क्रमणबाट बच्न काठमाडौँ उपत्यकामा निषेधाज्ञा जारी नगरिएको भए आज बिहानैदेखि पशुपतिमा तिजका बर्तालु लाखौँ महिलाको भीड हुन्थ्यो । भीड व्यवस्थापन गर्न हजारौँ सुरक्षाकर्मी र स्वयंसेवक पनि खटिएका हुन्थे । प्रत्येक वर्ष भाद्र शुक्ल तृतीयाका दिन बिहान पशुपति क्षेत्रमा लाखौँ बर्तालु महिला देवादिदेव महादेवको पूजा आराधना गर्न पुग्थे ।
यस वर्ष कोरोनाको महामारीका कारण पशुपतिनाथ मन्दिर क्षेत्र सुनसान छ । काठमाडौँ उपत्यकालगायत देशभरका मुख्य शिवालयमा पनि नित्य पूजा बाहेक सबै गतिविधि बन्द गरिएको छ । कोरोनाको महामारी नभएको पशुपति क्षेत्र विकास कोषका पदाधिकारी एवम् कर्मचारीलाई तिजको मेला व्यवस्थापनका लागि बिहानैदेखि पशुपति क्षेत्रमा सक्रिय हुनुपर्थ्यो ।
पशुपतिनाथको मूल मन्दिर चैतदेखि नै बन्द रहेको र परिसरमा पनि निषेधाज्ञाका कारण भक्तजन आउन नसक्ने भएकाले मेला व्यवस्थापनका लागि यस वर्ष तयारी नगरिएको कोषका कार्यकारी निर्देशक डा घनश्याम खतिवडाले बताए ।
पशुपति क्षेत्रमा तिजको मेला लाग्दा तिलगङ्गाबाट चावहिलसम्मको चक्रपथको मूल सडकसमेत प्रभावित हुने गर्थ्यो । चावहिलका ८१ वर्षीय वृद्ध श्यामसुन्दर केसी आफ्नो जीवनकालमा पहिलोपटक तिजको व्रतका दिन पशुपति क्षेत्र सुनसान देखेको बताउँछन् । साउनमा भने धेरै भक्तजनले पशुपतिमा परिसरसम्म पुगेर बाहिरबाटै दर्शन गरी फर्किएका थिए ।
पशुपतिमा जस्तै राजधानीको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर महादेव मन्दिर पनि साउनदेखि नै बन्द गरिएको छ । पशुपतिनाथ मन्दिर चैतदेखि बन्द भएपछि धेरै भक्तजन साउनको सोमबार गोकर्णेश्वरमा भेला हुन थालेपछि कोरोनाको महामारी फैलने डरले गोकर्णेश्वर महादेव मन्दिर क्षेत्र प्रबन्ध समितिले साउनदेखि नै मन्दिर बन्द गरेको थियो । गोकर्णे औँसी भनिने बाबुको मुख हेर्ने दिन पनि यस वर्ष गोकर्णेश्वर महादेव मन्दिर बन्द गरिएको थियो ।
कोरोनाबाट बच्न काठमाडौँ उपत्यकामा निषेधाज्ञा, देशका धेरै जिल्लामा बन्दाबन्दी जारी गरिएकाले यस वर्ष तिजका बर्तालुले घर घरमै देवादिदेव महादेवको पूजा आराधना गरी हरितालिका (तिज) पर्व मनाउँदैछन् । आजका दिन सक्नेले निराहार, नसक्नेले जलाहार र त्यो पनि नसक्ने फलाहार व्रत बस्ने गरेका छन् । प्रायःजसो बर्तालु महिला नै हुन्छन् ।