नहरमा मृत भेटिएका सशस्त्र प्रहरी जवानको हत्या आशंका, तीनजना पक्राउ
(जनकपुरधाम) सिरहाको खिरौनास्थित नहरमा मृत फेला परेका सशस्त्र प्रहरी जवान मनोहरकुमार यादवको हत्या भएको आशंका प्रहरीले गरेको छ ।
महोत्तरीको सोनमा गाउँपालिका–३ घर भएका यादवको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले तीनजनालाई पक्राउ गरेर अनुसन्धान अघि बढाएको छ । पक्राउ पर्नेमा सिरहा नगरपालिका–३ मखनाहाका २५ बर्षीय जयकेशकुमार यादव, २० बर्षीय मंगला भनिने दिपेशकुमार यादव र २२ वर्षीय बुलना भनिने मुकेशकुमार यादव रहेको प्रदेश २ का प्रहरी प्रमुख डीआईजी धिरजप्रताप सिंहले बताए ।
पक्राउ परेकाहरुलाई सिरहा जिल्ला अदालतबाट म्याद थप गराई अनुसन्धान अघि बढाइएको डीआईजी सिंहले जानकारी दिए । सिरहा नगरपालिका १७ स्थित सशस्त्र प्रहरी नेपाल बोर्डर आउटपोष्ट माडरमा कार्यरत यादव गत असार १६ गते नहरमा मृत फेला परेका थिए ।