जथाभावी फोहोर फाल्नेलाई सडक सफा गर्न लगाइयो
(वीरगञ्ज) वीरगञ्जको विर्ता क्षेत्रको सडकमा जथाभावी फोहोर फाल्ने मेडिकल, क्लिनिक र प्याथोलोजी सञ्चालकलाई सडक सफा गर्न लगाइएको छ ।
मंगलबार वीरगञ्जको विर्ता क्षेत्रका मेडिकल, क्लिनिक र प्याथोलोजी सञ्चालकलाई कारवाही स्वरुप उनीहरुलाई नै फोहोर सफा गर्न लगाइएको हो । अलखिया मठदेखि विर्तासम्मको क्षेत्रमा सडकमै जथाभावी फालिएको फोहोर उठाएर सफा गर्न लगाइएको हो । भिजन डाइग्नोस्टिक, श्री गणेश डाइग्नोस्टिक, प्रवेश मेडिको, शान्ति पोलिक्लिनिक लगायत आधा दर्जन व्यवसायीहरुलेस्वास्थ्य सेवा फोहोर व्यवस्थापन निर्देशिका २०७१ को खिल्ली उडाउँदै अस्पतालजन्य फोहोर सडकै फ्यालेका थिए ।
‘अस्पतालजन्य फोहोरहरु समेत जथाभावी फाल्ने गरिएको रहेछ, बोलाएर केहीलाई उठाउन लगायौं,’ जिल्ला प्रहरी कार्यालय पर्साका डिएसपी गौतम थापाले भने, ‘अब फेला परे कानुन बमोजिम कारबाही गर्ने चेतावनी दिएका छौं ।’
सडकमा जथाभावी फोहोर फालेको भेटिए अबका दिनमा कानुनी कारबाही गर्ने चेतावनीसमेत दिएको जिल्ला प्रहरी कार्यालय पर्साका डिएसपी थापा बताउँछन् । वीरगञ्ज–३ का वडा अध्यक्ष बैजु स्वर्णकारले सुईसमेत जथाभावी फालेको पाइएपछि आइन्दा त्यस्तो पाइए हदैसम्म जरिवाना गर्ने चेतावनी दिएको बताउँछन् ।
केही दिन यता वीरगञ्जमा समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत स्वच्छ एवं व्यवस्थित वीरगञ्ज अभियान सञ्चालनमा छ । जिल्ला प्रहरी कार्यालय पर्साको प्रमुख प्रहरी उपरीक्षक गंगा पन्तको सक्रियतामा अभियान शुरु गरिएको हो । अभियानमा सामाजिक संस्था, युवा क्लब मात्रै नभएर महानगरपालिकाका वडा अध्यक्षहरु सहभागी छन् ।