पूर्वडीआईजी रञ्जन कोइरालाको मुद्दामा आज सुनुवाइ हुँदै
(काठमाडाैं) सर्वस्वसहित जन्मकैदको सजाय भोगिरहेका सशस्त्र प्रहरीका पूर्वप्रहरी नायब महानिरीक्षक (पूर्वडीआईजी) रञ्जन कोइरालाको मुद्दामा आज सुनुवाइ हुने भएको छ । उनको कैद घटाउने गरी सर्वोच्च अदालतको फैसलामा महान्यायाधिवक्ताको कार्यालयले दर्ता गरेको पुनरावलोकनमा सुनुवाइका लागि आज पेसी तोकिएको छ ।
सशस्त्र प्रहरीका पूर्वडीआईजी कोइरालाले पत्नी गीता ढकालको हत्या गरेर प्रमाण लुकाउन शव जलाएको देखिएपछि काठमाडौँ जिल्ला अदालत र ललितपुर पुनरावेदन अदालतले सर्वस्वसहित जन्मकैदको फैसला गरेको थियो । जिल्ला र पुनरावेदन अदालतले सर्वस्वसहित जन्मकैदको फैसला सुनाएका कोइरालालाई सर्वोच्च अदालतले ११ वर्ष सजाय घटाउने फैसला गरेपछि महान्यायाधीवक्ताको कार्यालयले पुनरावलोकन निवेदन दर्ता गरेको हो ।
पूरक निवेदनमा सुनुवाइ हुने भएपछि उक्त मुद्दा पुनः विचारधीन बनेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र न्यायाधीश तेजबहादुर केसीको संयुक्त इजलासले गरेको फैसलाउपर परेको पुनरावलोकन निवेदन अब तीनजना न्यायाधीशबाट सुनुवाइ हुनेछ ।
आजै तीन सदस्यीय इजलासले निवेदनमाथि अध्ययन गरी पुनरावलोकन हुने वा नहुने आदेश गर्नेछ । न्यायाधीश बमकुमार श्रेष्ठको नेतृत्वमा आइतबार तोकिएको इजलासमा न्यायाधीशद्वय प्रकाशकुमार ढुंगाना र कुमार रेग्मी सदस्य छन् ।