जर्ज फ्लोयड हत्या प्रकरणमा अमेरिकामा छैटौं दिन पनि प्रदर्शन
एकजना काला जातिका पुरूषलाई प्रहरी अधिकारीले घाँटी थिचेर मारेको घटनालाई लिएर अमेरिकामा छैटौं दिन पनि हिंसात्मक प्रदर्शन भएको छ।
घटना गत सोमबार घटेको हो। जर्ज फ्लोयड नामका ती मानिसको प्रहरीले नियन्त्रणमा लिने नाममा लामो समयसम्म घाँटी थिचेपछि ज्यान गएको थियो।
मिनिसोटा राज्यको मिनियापोलिसमा घटेको सो घटनाको भिडिओ सार्वजनिक भएपछि अमेरिकामा मानिसहरू घटनाको विरोधमा सडकमा निस्किएका हुन्। शान्तिपूर्ण भनिएपनि ती प्रदर्शनमा प्रशस्त हिंसाहरू भइरहेका छन्।
प्रदर्शन नियन्त्रण बाहिर जान थालेपछि हाल कम्तीमा अमेरिकाका ४० शहरमा कर्फ्यू लगाइएको छ भने १५ वटा राज्यमा नेशनल गार्डहरूलाई स्थिति नियन्त्रण गर्न सडकमा ल्याइएको छ।
जर्ज फ्लोयडको हत्यामा संलग्न ती पूर्व प्रहरी अधिकारीलाई हाल पक्राउ गरिसकिएको छ। उनीमाथि तेश्रो डिग्री हत्या र आमनरसंहारको आरोप लगाइएको छ। तर, प्रदर्शनकारीहरूले उनीमाथि लगाइएको यो आरोप पर्याप्त नभएको र घटनामा संलग्न अन्य प्रहरी अधिकारीलाई पनि मुद्दा चलाउनुपर्ने माग गर्दै आएका छन्।
यसैगरी उनीहरूको आन्दोलन जर्ज फ्लोयडलाई न्यायसँगै अमेरिकामा काला जातिमाथि प्रहरीले गर्ने अन्याय र विभेदको विरूद्धमा छ।