पाल्पाको पहिरोमा ज्यान गुमाउनेको संख्या ३ पुग्यो
पाल्पाको तानसेन नगरपालिका वडा नम्बर ११ सम्मवारीमा सोमबार भएको सवारी दुर्घटनामा मृत्यु हुनेको संख्या ३ पुगेको छ।
तानसेन देखि ५ किलोमिटर पश्चिम तानसेन रिडी सडकखण्डको ५ कि.मी. पश्चिम सम्मवारीमा गएको पहिरोमा चार सवारी साधन पुरिदां ३ जनाको ज्यान गएको हो। सोमबार दिउँसो पहिरो हटाउदै गर्दा पुनः माथिबाट पहिरो झर्दा सडकमा रोकिएका चारवटा सवारी साधन पुरिन पुगेका थिए।
पहिरोले सवारी साधन पुर्दा दुईजनाको घटनास्थलमै र एकजनाको उपचार हुँदै गर्दा अस्पतालमा मृत्यु भएको प्रदेश ५ ट्राफिक प्रहरी कार्यालय बुटवलका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक डिल्ली नारायण पाण्डेले जानकारी दिए।
सोमबार अपरान्ह पौने ५ बजे पाल्पाबाट गुल्मीतर्फ जाँदै गरेको लु २ ख १३७६ नम्बरको ट्रक, लु १ क १९२८ नम्बरको तेल बोक्ने ट्याङ्करलाई माथिबाट झरेको पहिरोले सडकदेखि तल बगाएको थियो । पहिरोमा परी चितवनका वीर बहादुर गुरुङ, होक्से-४ काभ्रेका निमेष श्रेष्ठ र पाल्पाका भुवन खाम्चा रहेको पाण्डेले जानकारी दिए। मृतक सबै तीनैजना ट्याङ्करमा रहेका व्यक्ति भएको प्रहरीले जनाएको छ।
त्यस्तै लु २ च ७०४३ नम्बरको अल्टो कार र लु १ च ७०११ नम्बरको कुखुरा बोक्ने गाडी सडक छेउमै पुरिएका थिए। ती गाडीमा क्षति पुगेपनि कुनै मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ।