युएईबाट १४८ नेपाली बोकेर काठमाडौं नेपाल एयरलाइन्स उड्यो
(युएई) युएईबाट १ सय ४८ जना नेपाली स्वदेश फर्किएका छन् । फर्कनेहरुमा अधिकांश महिला छन् । सो विमानमा एक जना नेपालीको शवसमेत रहेको दूतावासका सूचना अधिकारी भुवन ओझाले बताए ।
कोभिड–१९ का कारण समस्यामा परेका नेपालीहरुलाई नेपाल एयरलाइन्सको २२९३ विमानमार्फत नेपाल पठाइएको हो । नेपाल एयरलाइन्सले युएईबाट पहिलो उडान गरेको हो । युएईको स्थानीय समयअनुसार शुक्रबार बिहान ४ बजे उडान भएको छ । असार २ गते हुने भनिएको उडान स्थगित भएपछि सोही उडान तालिकामा रहेकाहरुलाई शुक्रबार नेपाल पठाइएको हो ।
स्वदेश फर्किएकाहरुमा आबुधाबीबाट ४२ जना छन् । युएईका विभिन्न राज्यमा रहेका नेपालीहरुलाई सम्बन्धित एयरलाइन्सले विमानस्थलसम्म ल्याइदिएका थिए । नेपाल फर्किएकाहरुले नेपाल सरकारले तोकेको १३ सय २० दिरामका (करिव ४० हजार रुपैयाँ) को दरले टिकट काटेका छन् । नेपाल फर्कन चाहनेहरुका लागि आह्वान गरेको फारममा आफ्नो विवरण उल्लेख गरेकाहरुलाई प्राथमिकताका आधारमा नेपाल फर्काइएको नेपाली दूतावास आबुधाबीले जनाएको छ । सोहीअुनसार पहिलो उडानमा अधिकांश गर्भवती महिलाहरु परेका छन् ।
युएईबाट नेपाल एयरलाइन्स, हिमालय एयरलाइन्स, फ्लाइ दुवई र एयर अरेवियाले पनि उडान गर्ने दूतावासले जनाएको छ ।
युएईबाट नेपाल एयरलाइन्सले २, हिमालय एयरलाइन्स, फ्लाइ दुवई र एयर अरेवियाले ३–३ वटा उडान गर्ने दूतावासले जनाएको छ । उक्त उडान तालिकाबारे क्रमशः जानकारी दिने दूतावासले जनाएको छ । नेपाल एयरलाइन्सको अर्को उडान असार ७ गते आइतबार युएईको समयअनुसार बिहान ११ बजे हुने नेपाल एयरलाइन्सको युएईका लागि आधिकारिक टिकट बिक्रेता एजेन्सी प्रतिनिधि साजी पोलले जानकारी दिए ।
स्वदेश फर्कनहरुको सूची दूतावासले सम्बन्धित एयरलाइन्समा जानकारी गराउनेछ । सोही आधारमा एयरलाइन्सले सम्बन्धित व्यक्तिहरुलाई उडान हुने मिति र टिकट काट्ने स्थानका बारेमा जानकारी गराउने पोलले बताए ।