नक्कली बिरामी बनाएर यात्रु ओसार्ने एम्बुलेन्स चालकसहित तीन पक्राउ
सल्यानमा एम्बुलेन्स चालकसहित तीन जना नक्कली विरामी पक्राउ परेका छन्।
लकडाउनका बेला नक्कली पास र नक्कली विरामी बनाएर यात्रु आसोरेको आरोपमा चार जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा एम्बुलेन्स चालक दाङ शान्तिनगर गाउँपालिका वडा नं. २ बाघमारे निवासी ३० वर्षीय गिरिराज खत्री, नक्कली विरामीहरु लमही नगरपालिका वडा नं. ३ नारायणपुर निवासी २९ वर्षीय मिनराज सुवेदी, सोही ठाउँका २३ वर्षीय दिपु चौधरी र १८ वर्षीय रविन चौधरी रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी दिएको छ।
जिल्लाको बागचौर नगरपालिका वडा नं. ५ बाङ्गेलाकुरीस्थित इलाका प्रहरी कार्यालय सिमखोली सल्यानले चैत ३० गते राति १० बजे जाँचको क्रममा उनीहरु पक्राउ परेका हुन्। मानव परोपकार तथा समाज कल्याण केन्द्र दाङद्वारा सञ्चालित रा १ च ५१२ नम्वरको एम्बुलेन्सका चालकले नक्कली पास बनाइ नक्कली विरामी ल्याएर पश्चिम रुकुमदेखि दाङको तुलसीपुर तर्फ आउँदै गर्दा पक्राउ परेका थिए।
जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख डिएसपी ढकेन्द्र खतिवडाले पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको जानकारी दिए ।