मेडिकल सामग्री लिन चीन गएको वाइडबडी जहाज आजै राति फर्किने
(काठमाडौं) कोरोना भाइरस (कोडिभ–१९) को औषधि तथा उपकरण लिन नेपाल वायुसेवा निगमको वाइड बडी ए ३३० जहाज आज चीनको ग्वाङ्झाओ गएको छ ।
चार्टर्ड गरिएको सो जहाज आजै राति काठमाडौं फर्कने विमानस्थलका महाप्रवन्धक देवेन्द्र केसीले जानकारी दिए । सो जहाज बिहीबार बिहान साढे ११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ग्वाङझाओ प्रस्थान गरेको थियो । चौधरी फाउन्डेसन, नर्भिक लगायतका निजी अस्पतालका सामान ल्याउन सो जहाज चीन गएको हो । तर, सामान काठमाडौं नआएसम्म के–के आउँछ भनेर बोल्न नमिल्ने एक अस्पतालका अधिकारीले बताए ।
यसअघि नेपाल सरकारको मेडिकल सामाग्री नेपाल एयरलाइन्सकै वाइडबडी जहाजबाट काठमाडौं ल्याइएको थियो । सो सामानमा कैफियत देखिएपछि स्वास्थ्य सेवा विभागले औषधि ल्याउने जिम्मा पाएको कम्पनीसँग सम्झौता रद्द गरेको जनाएको छ ।