अस्ट्रेलियामा कोभिड–१९ को सम्भावित खोपको परीक्षण
(काठमाडौं) अस्ट्रेलियाका वैज्ञानिकहरुले कोरोना भाइरस (कोभिड–१९) को सम्भावित दुई खोपको ल्याब परीक्षण सुरु गरेका छन् ।
अक्सफोर्ड यूनिभर्सिटी र अमेरिकी कम्पनी इनोभिनो फर्माक्युटिकलले बनाएको खोप जनावरमा परीक्षणका लागि विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले अनुमति दिएको छ । अस्ट्रेलियाको नेशनल साइन्सले यो खापले काम गर्छ वा गर्दैन भन्ने परीक्षण गर्नेछ । यो खोप मानिसका लागि सुरक्षित रहे–नरहेको पनि परीक्षण हुनेछ ।
कोभिड–१९ को खोप पहिलोपटक अमेरिकामा गत महिना मानिसमा परीक्षण गरिएको थियो । तर उक्त खोपमा जनावरमा गर्नुपर्ने पहिलो परीक्षण गरिएको थिएन । विश्वभर अहिले कोरोनाविरुद्धको खोप निर्माणको काम तीव्र गतिमा अघि बढिरहेको छ । तर अस्ट्रेलियाको कमनवेल्थ साइन्टिफिक एण्ड इन्डष्ट्रियल रिसर्च अर्गनाइजेशन (सीएसआईआरओ)ले भने परीक्षण जनावरको मोडलबाट सुरु गरिएकाले प्रभावकारी हुने बताएको छ ।
अहिलेको अवस्थामा खोप निर्माणको लागि देखिएको विश्वव्यापी सहकार्य अभूतपूर्व रहेको शोधकर्ताले बताएका छन् । सामान्य हिसाबमा अहिलेको अवस्थामा पुग्न एकदेखि दुई वर्षसम्म लाग्ने गरेको सीएसआईआरओका डक्टर रोब ग्रेनफेलले बताए ।