अमेरिकालाई अलिबाबाका ज्याक माले मास्क र कोरोनाभाइरस टेस्ट किट पठाए
अलिबाबाका सह–संस्थापक ज्याक माले कोरोनाभाइरससँग लड्नका लागि अमेरिकालाई सर्जिकल मास्क र परीक्षण उपकरण सहयोग गरेका छन् ।
चिनियाँ अर्बपतिले यो महिना अमेरिकालाई ५ लाख परीक्षण उपकरण र १० लाख सर्जिकल मास्क सहयोग गर्ने घोषणा गरेका थिए ।
उनले संघाइस्थित विमानस्थलमा मास्क र कोरोनाभाइरसको परीक्षण उपकरण विमानमा लोड गर्दै गरेको तस्विर ट्वीट गर्दै यसबारे जानकारी दिएका हुन् ।
![]()
The first shipment of masks and coronavirus test kits to the US is taking off from Shanghai. All the best to our friends in America.
92.4K people are talking about this
एसियाका सबैभन्दा धनी व्यक्ति रहेका माले युरोपका लागि पनि मेडिकल उपकरणहरु पठाएका छन् । उनले महामारीसँग लड्नका लागि अन्तर्राष्ट्रिय सहकार्यको आह्वानसमेत गरेका छन् ।
ज्याक मा फाउन्डेसन र अलिबाबा फाउन्डेसनले यसअघि जापान, दक्षिण कोरिया, इटाली, इरान र स्पेनमा आवश्यक मेडिकल सामाग्रीहरु सहयोग गरिसकेको पनि जनाएको छ । इटालीका लागि पठाइएको ५ लाख मास्क र अन्य मेडिकल सामाग्री शुक्रबार बेल्जियम आइपुगेको थियो ।
यसअघि, माइक्रोसफ्टका सह–संस्थापक तथा विश्वकै दोस्रा धनी बिल गेट्सले भाइरसको संक्रमण रोक्नका लागि बिल र मेलिन्डा गेट्स फाउन्डेसनले १० करोड अमेरिकी डलर सहयोग गर्ने घोषणा गरेका थिए । शुक्रबार गेट्सले माइक्रोसफ्टको बोर्डबाट हट्ने पनि बताएका थिए ।
चिनियाँ प्रविधि कम्पनी टेन्सेन्ट, टिकटकलगायतले पनि आर्थिक सहयोग गर्ने घोषणा गरेका छन् ।