इटालीका प्रधानमन्त्रीले कोरोनासामू आत्मसमर्पण गरेका छैनन्
(काठमाडौं) कोरोना भाइरस (कोभिड–१९) को प्रकोपबाट सबैभन्दा आक्रान्त देश हो इटाली । त्यहाँ मृतक संख्या चीनमा मृत्यु हुनेको संख्या भन्दा दोब्बर पुगिसक्यो ।
हिजोआज सामाजिक सञ्जालमा इटालीका प्रधानमन्त्रीले कोरोनासामू आत्मसमर्पण गरेको भन्दै एउटा पोष्ट भाइरल बनेको छ । नेपालमा पनि धेरैले यसलाई सेयर गरेका छन् । इटालीका प्रधानमन्त्री गिउसेप्पे कोन्टको अभिव्यक्ति भन्दै सेयर गरिएको पोष्ट यस्तो छः ‘हाम्रो नियन्त्रण गुम्यो । संक्रामक रोगले हामीलाई मारिरहेको छ । पृथ्वीमा सम्भव सबै प्रयासहरु सकिए । अब आकाशतिर हेर्नुको विकल्प छैन ।’
यससँगै भाइरल बनेको छ, ‘कोन्ट रोइरहेको’ एउटा तस्वीर । कोरानासँग हारेर उनी जनतासामू रोएको भन्दै प्रचार गरिएको छ ।
तस्वीरसँगै क्याप्सनमा भनिएको छ, ‘इटालीसँग विश्वमै सर्वोत्कृष्ट स्वास्थ्य सेवा र सुविधाहरु छन् । तर आज कोरोना भाइरस नियन्त्रण गर्न असफल भएको छ किनकी सुरुमा उनीहरुले यसलाई ख्यालख्याल सम्झे । आज देशका प्रधानमन्त्री कोरोना लागेर मरेका मान्छेहरु गाड्न ठाउँ अभाव भयो भन्दै धरधरी रोइरहेका छन् ।’
तपाईं चाहिँ नझुक्किनुस्, माथिको पोष्ट र तस्वीर दुवै सत्य होइनन् ।
न इटालीका प्रधानमन्त्रीले कोरोनासँग हार खाएको घोषणा गरेका छन्, न त उनी यसरी रोएका नै छन् । इटाली अहिले पनि कोरोनाविरुद्ध लडिरहेको छ ।
इटालीका प्रधानमन्त्री कोन्टले कोरानासँग हार खाएँ भनेर अभिव्यक्ति दिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुमा आएको छैन । बरु बुधबार उनले कोरानाबाट धराशायी बनेको अर्थतन्त्र उकास्न अप्रिलमा दोस्रो राहत प्याकेज घोषणा गर्ने बुधबार बताएका छन् । यो प्याकेज २५ अर्ब यूरोभन्दा बढीको हुने अनुमान छ ।
मार्चमा उनले पहिलो राहत प्याकेज घोषणा गरेका थिए । साथै उनले कोरोनाविरुद्ध सरकारले थालेको पहलमा साथ दिन प्रतिपक्षलाई पनि आह्वान गरेका छन् । ‘सबै कुराका लागि समय आउने छ, तर अहिले चाहिँ काम र जिम्मेवारी निर्वाह गर्ने समय हो,’ इटालीका प्रधानमन्त्री कोन्टले भनेका छन् ।
खासमा फेसबुकमा भाइरल बनेको रोइरहेका तस्वीर पनि उनको होइन । उक्त तस्वीर ब्राजिलका राष्ट्रपति जैर बोल्सोनारोको हो । सन् २०१९ को डिसेम्बरमा एउटा प्रार्थना सभालाई सम्वोधन गर्ने क्रममा उनी यसरी रोएका थिए ।
सम्वोधन गर्दा जब उनले आफ्नी सानी छोरीको विषय कुरा गर्न थाले, एकाएक भावुक बने । उनको त्यही तस्वीरलाई अहिले इटालीका प्रधानमन्त्री कोन्टको भन्दै भाइरल बनाइएको हो ।