कोरोना कहर : क्यालिफोर्नियामा आपतकाल
(काठमाडौं) कोरोना भाइरसको कारण एक जनाको ज्यान गएपछि अमेरिकाको क्यालिफोर्निया राज्यमा आपतकाल घोषणा गरिएको छ ।
क्यालिफोर्नियामा ७१ वर्षीय वृद्धको अस्पतालमा मृत्यु भएको हो, जो जहाज चढेर सानफ्रान्सिस्कोबाट मेक्सिको गएका थिए । क्यालिफोर्नियामा कोरोनाबाट मृत्यु भएको यो पहिलो घटना हो । अमेरिकी अधिकारीहरुका अनुसार देशभर स्वास्थ्य परीक्षण गर्दा १६ वटा राज्यमा कम्तिमा १५० जना कोरोना भाइरस संक्रमित फेला परेका छन् । अमेरिकामा मृत्यु भएका ११ जनामध्ये १० जना वाशिङ्गटन डिसी राज्यका छन् ।
कोरोना भाइरसको संक्रमण फैलिएर टेक्सास र नेब्रास्कामा समेत पुगेको छ । संक्रमणदर बढ्दै गएपछि वाशिङ्गटन र फ्लोरिडा राज्यले एक हप्ताको बीचमा आपतकाल घोषणा गरेका थिए । वाशिङ्गटन र फ्लोरिडा राज्यमा पनि एक हप्ताको बीचमा आपतकाल घोषणा गरिएको थियो ।
अधिकारीहरुका अनुसार विश्वभर ९४ हजार बढी संक्रमित छन्, तीमध्ये ८० हजार जना चीनमा मात्रै छन् । विश्वभर ३ हजार २ सय जनाको कोरोनाकै कारण मृत्यु भएको छ । चीनमा मात्रै २ हजार ९ सय ८१ जनाको मृत्यु भएको छ ।