भारतमा जनता कर्फ्यू : अफवाहले जनता त्रसित, अत्यावश्यक सेवाबाहेक सबै बन्द
(काठमाडौं) प्रधानमन्त्री नरेन्द्र मोदीको आह्वानमा आइतबार चलिरहेको जनता कर्फ्यूका कारण भारतमा अत्यावश्यक बाहेक सबै सेवा बन्द भएका छन् ।
प्रहरी, सञ्चार माध्यमका अधिकारीहरु, चिकित्सक र सरसफाइका व्यक्तिबाहेक अरुलाई सामान्य अवस्थामा घर नछाड्न भनिएको छ ।
यो राज्यको तर्फबाट लगाइएको कर्फ्यू नभएकाले अत्यावश्यक काम परेर बाहिर निस्कनेहरुलाई प्रहरीले कुनै कारबाही गर्न लागेको छैन । तर, सामाजिक सञ्जालमा घरबाहिर निस्कनेहरुलाई प्रहरीले ११ हजार रुपैयाँ जरिवाना गराउँछ भन्ने अफवाहका कारण भने नागरिकहरु त्रसित बनेको नवभारत टाइम्सले जनाएको छ ।
यद्यपि सो अफवाहमा दिल्ली प्रहरीले खण्डन गरिसकेको छ । यो नागरिकको तवरबाट भएको कर्फ्यू भएकाले आवश्यक काम परेमा निर्बाध रुपमा बाहिर निस्कन सकिने प्रहरीले जनाएको छ । बिहीबार प्रधानमन्त्री मोदीले राष्ट्रको नाममा सम्बोधन गर्ने क्रममा बिदाको दिन पारेर २२ मार्च अर्थात् आइतबारको लागि जनता कर्फ्यूको घोषणा गरेका थिए ।
विशेष परिस्थितिमा राज्यले लगाउने कर्फ्यूभन्दा भिन्न यो कर्फ्यूका कारण ३६ घण्टासम्म कोही पनि बाहिर ननिस्कँदा कोरोना भाइरसको महामारी कम हुने उद्देश्यसहित यस्तो प्रस्ताव गरिएको मोदीले सम्बोधनको क्रममा बताएका थिए ।