३२ तोला सुन डकैती गर्ने राजु थापा २३ वर्षपछि पक्राउ
डाँका मुद्दामा फरार रहेका राजु थापा पक्राउ परेका छन्।
मंगलबार सिआइबीको टोलीले काठमाडौंको मित्रनगरबाट नुवाकोट शिवपुरी गाउँपालिका-६ का थापालाई पक्राउ गरेको हो।
२३ वर्षअघि (२०५३ माघ १० गते राति) भेष बहादुर गुरूङले हङकङबाट ल्याएको ३२ तोला सुन बा.अ.ग. २८७३ नम्बरको गाडीमा ल्याउँदै गर्दा थापाले डाँका मारेका थिए। उक्त गाडीमा छिरिङ वाङ्गेल घले पनि सवार थिए।
डाँकाविरूद्ध घलेले जाहेरी दिएका थिए। सो मुद्दाको सुनुवाइ गर्दै सर्वोच्च अदालतले २०७५ असार ११ गते थापामाथि चार लाख २० हजार जरिवाना र छ वर्षको कैद सजाय सुनाएको थियो।
उक्त दिनदेखि फरार थापालाई मंगलबार पक्राउ गरी फैसला कार्यान्वयनको लागि काठमाडौं जिल्ला अदालतमा पेश गरिएको थियो।अदालतले उनलाई कारागार चलान गर्न आदेश दिएको छ।
आदेशपश्चात थापालाई डिल्लीबजार कारागार लगिएको छ।