रेडपान्डाको छालासहित ४ जना पक्राउ
(काठमाडौँ) महानगरीय अपराध महाशाखाले काठमाडौंबाट दुर्लभ वन्यजन्तु रेडपान्डाको छालासहित ४ जनालाई पक्राउ गरेको छ ।
महाशाखाको टोलीले सोमबार दिउँसो बुढानिलकण्ठ नगरपालिका १२ कपन खरिबोटबाट सिन्धुली तिनपाटन गाउँपालिका- ४ बालाजोरका ३९ वर्षीय सूर्यबहादुर भुजेल, धादिङ धुनिबेसी नगरपालिका ७ झाप्रेका ४० वर्षीय सुकबहादुर लामा, काठमाडौं बुढानिलकण्ठ नगरपालिका १३ कपनकी ४० वर्षीया कमला तामाङ र कास्की मादी गाउँपालिका ८ तारकाङका ३७ वर्षीय युवराज सापकोटालाई पक्राउ गरेको प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले जानकारी दिए।
गोप्य सूचनाको आधारमा शरीर खानतलासी गर्दा भुजेलले बोकेकोझोलाभित्र निलो प्लास्टिकमा बेरिएको अवस्थामा दुर्लभ वन्यजन्तु रेडपान्डाको छाला फेला परेपछि उनीहरुलाई पक्राउ गरिएको सिंहले निकालेको विज्ञप्तिमा उल्लेख छ।
उनीहरुलाई कारबाहीको लागि जिल्ला वन कार्यालय काठमाडौं पठाइएको उनले बताए।