अकुपाई टुँडिखेल अभियान : ‘हामी थाकेका छैनौं’
(काठमाडौं) टुँडिखेललाई अतिक्रमणबाट जोगाउन भन्दै शुरु गरिएको ‘अकुपाई टुँडिखेल अभियान’को घोषित तीन महिने कार्यक्रम सकिएको छ ।
सार्वजनिक सम्पत्ति संरक्षणका लागि भन्दै ३ महिनाका लागि यस अभियान घोषणा गरिएको थियो । अभियन्ताहरुले काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलाई ज्ञापन पत्र बुझाएर पहिलो चरणको कार्यक्रम समापन गर्ने योजना बनाएको थियो । कात्तिक २३ गते मानव साङ्लो बनाएर शुरु भएको अभियान हरेक शनिबार विभिन्न कार्यक्रम गरेर खुला क्षेत्रका लागि अभियानले आवाज उठाउँदै आएको थियो ।
पहिलो चरणका लागि घोषण गरिएको ३ महिने कार्यक्रम समापन भए पनि अभियान भने समाप्त नभएको अभियन्ताहरुले बताएका छन् ।
‘हामी थाकेका छैनौं’
अभियानको घोषित कार्यक्रमअनुसार पहिलो चरणको ३ महिना सकिए पनि चुपचाप नबस्ने अभियानका अभियन्ताहरु बताउँछन् । अबको कार्यदिशा के कसरी हुन्छ टुँडिखेललाई अतिक्रमणबाट जोगाउने नै भएको अभियानका संयोजक विजय श्रेष्ठले बताए ।
उनले उपमेयरको अनुगमन प्रतिवेदन कार्यान्वयन गराउनका लागि दबाव दिइने बताए । उनले भने, ‘सार्वजनिक सम्पत्ति अतिक्रमण रोकथाम तथा नियन्त्रण गर्ने दायित्व स्थानीय सरकारलाई दिएको छ, सोहि अनुसार हाम्रा पिता पूर्खाले हस्तान्तरण गरेको पूर्ण टुँडिखेल कायम गर्न लगाउँछौं ।’
टुँडिखेलको अतिक्रमण गम्भीर मानव अधिकारको उल्लंघन भएकाले राष्ट्रिय मानव अधिकार आयोगमा डेलिगेसन गई तत्काल सरकारलाई सो अतिक्रमण हटाउन सिफारिस गर्न लगाउने समेत योजना अभियानको छ ।
युनेस्कोमा डेलिगेसन गई टुँडिखेलको मूर्त अमूर्त सम्पदा प्रति संवेदनशील हुन ध्यानाकर्षण गराउनुका साथै नागरिक समाज, राजनितिज्ञ, पत्रकारहरूबाट आएको सुझावलाई आत्मसाथ गर्दै मुक्त टुँडिखेलको लागि संघर्ष गर्ने अभियानले निर्णय गरेको छ ।