प्रथम राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु
(पर्वत) महाशिला गाउँपालिकाको आयोजनामा शनिबारबाट प्रथम राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु भएको छ । कृष्ण गोपाल गुरुङ स्मृति बालाकोट दह खेलमैदानमा सम्पन्न हुने प्रतियोगितामा गाउँपालिका भित्रका ११ विद्यालयहरुले प्रतिस्पर्धा गर्नेछन् ।
विद्यालयस्तरमा रहेका प्रतिभालाई खेलमार्फत छनौट गरी उत्कृष्ट खेलाडीलाई जिल्लामा सहभागी गराउने गरी पहिलो पटक प्रतियोगिता आयोजना गरिएको गाउँपालिकाका प्रवक्ता जिवन उचै ठकुरीले जानकारी दिनुभयो ।प्रतियोगिताको उद्घघाटन गर्दै जिल्ला समन्वय समिति प्रमुख मनोहर बि पौडेलले गाउँपालिकाले पहिलो पटक गाउँमा रहेका प्रतिभाहरुलाई प्रस्फुटन गराउने अवसरको सृजना गरेकोमा खुसि ब्यक्त गर्नुभयो ।
खेलाडीलाई प्रोत्साहन गर्न यस्ता कार्यक्रमको महत्वपूर्ण भूमिका रहने उल्लेख गर्दै पौडेलले जिल्लामा रहेका सबै खेलमैदानलाई स्तरोन्नती गरिने प्रतिबद्धता जनाउनुभयो । खेलकुदले अनुशासनको विकास गराउने भएकाले यसलाई पढाइसँगसँगै अघि बढाइनुपर्नेमा उहाँको जोड थियो ।
प्रतियोगितामा दौड, हाइजम्प, लङजम्प, भलिबल, कबड्डी लगायतका अन्य प्रतियोगिताहरु पनि सञ्चालन हुनेछन् । उद्घाटनको अवसरमा विद्यार्थीहरुले मार्च पास सँगै खेलकुद तथा गीतसंगति र नृत्यका विभिन्न प्रस्तुतिहरु प्रदर्शन गरेका थिए ।