स्वास्थ्य मन्त्रालयकाे गम्भीर लापरवाही, विज्ञ भन्छन्– कोरोना संक्रमण फैलन सक्छ
विश्वभर कोरोनाको सन्त्रास यति फैलिएको छ कि अन्य देशहरूले आफ्नो देशका नागरिकहरूलाई लगेर क्वारेण्टाइनमा राखिसकेका छन्। विश्व स्वास्थ्य संगठनले चीन उच्च जोखिममा रहेको र नेपाललगायतका देश पनि संक्रमण फैलन सक्ने जनाएको छ ।
यतिबेला स्वास्थ्य सेवा चुस्त र प्रभावकारी भएका देशहरू पनि कोरोनाको संक्रमण होला भनेर डर मानिरहेका छन्। देशमा कोरोनाको महामारी नफैलियोस् भनेर उनीहरुले गरेको पूर्व तयारी आश्चर्यलाग्दो छ। तर, पर्याप्त पूर्व तयारी नहुँदा पनि नेपाल सरकार ढुक्क भएको स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालको अभिव्यक्तिबाट थाहा हुन्छ।
उनले मंगलबार संसदमा भनेका थिए, ‘चीन सरकार जसरी नाच्छ, त्यही तालमा खु्ट्टा उचाल्नुपर्छ भन्ने कुरामा नेपाल सरकार विश्वास गर्दैन।’
के स्वास्थ्यमन्त्री ढकालले भनेजस्तै नेपाल कोरोना संक्रमणबाट ढुक्क हुनुपर्ने अवस्थामा छ त ? मन्त्री ढकालले जनताहरुलाई ढुक्क हुनेगरी तयारी पूरा गरेका छन् त ? सरकारको बोली नसुनीकन कामलाई हेर्ने हो भने ‘छैन’ । आपतकालीन अवस्थामा चाल्नुपर्ने कदम सरकारले चालेकै छैन। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा पूर्वनिर्देशक बाबुराम मरासिनी भन्छन्, ‘चीनमा रहेको जनताको विषयमा साच्चिकै संवेदनशील भएको भए सरकारले उनीहरुलाई एक हप्ताअघि नै उद्धार गर्नुपर्थ्यो।’
विज्ञहरुको कुरा सुन्ने हो भने कोरोना संक्रमण हुन नदिन नेपालले कुनै तयारी नै गरेको छैन। अर्थात्, तयारी गरेजस्तो देखिए पनि सरकार गम्भीर छैन। एक जनस्वास्थ्यविज्ञ भन्छन्, ‘सरकारले कोरोना संक्रमणबाट जोगिन गम्भीर भएर नलागीकन तयारी गरेजस्तो देखाउँदा थुप्रै गम्भीर लापरवाही भएका छन् ।’
उनका अनुसार, सरकारको यस्तो लापरवाहीको सूची लामै छ । पछिल्लो लापरवाहीको उदाहरण हो— चीनबाट आफूखुसी फर्किएकाहरूलाई निगरानीमा नराख्नु।
अहिले चीनबाट नेपाल ल्याउन तयारी गरिरहेका नेपालीहरूलाई कोरोना संक्रमण पुष्टि नभएको अवस्थामा मात्र नेपाल ल्याउने भनिएको छ। त्यसैको लागि २ साता छुट्टै क्वारेण्टाइनमा राख्ने ठाउँ खोज्न स्वास्थ्य मन्त्रालय एक सातादेखि दौडधुप गरिरहेको छ। किनकि, विश्व स्वास्थ्य संगठनले ‘चीनबाट फर्किएकाहरूलाई अनिवार्य रूपमा २ साता क्वारेण्टाइनमा राख्नुपर्छ’ भनेर स्पष्ट मापदण्ड बनाएको छ।
‘कोरोना संक्रमणको संक्रमण अविधि २ देखि १४ दिनसम्म हुन्छ, यो बीचमा कोरोना भाइरस जुनसुकै बेला विकसित हुन सक्छ’ भन्दै संगठनले १४ दिन अनिवार्य क्वारेण्टाइनमा राख्ने मापदण्ड बनाएको हो।
प्रश्न स्वाभाविक उठ्छ– संगठनको यस्तो प्रष्ट मापदण्ड हुदाँहुँदै आफूखुसी चीनबाट नेपाल आएकाहरूलाई किन छाडियो ? उनीहरूले अरू मानिसलाई कोरोना संक्रमण गराउँदैनन् भन्ने के ग्यारेण्टी ? चीनबाट फर्किएकाहरूलाई संक्रमणको डर नभएको भए सरकारले ल्याउँदै गरेकालाई किन १४ दिन क्वारेण्टाइनमा राख्नु पर्यो ?
स्वास्थ्य मन्त्रालयका प्रवक्ता श्रेष्ठ भन्छन्, ‘उनीहरूलाई कोरोनाको चिह्न र लक्षण नदेखिएकाले क्वारेण्टाइनमा नराखिएको हो।’
उनको यो जवाफले स्वास्थ्य मन्त्रालयको लापरवाही प्रष्ट झल्काउँछ। किनकि, चीनबाट ल्याउन लागिएका नेपालीहरूलाई पनि कोरोनाको संक्रमण भएर ल्याउने होइन । यद्यपि, उनीहरूलाई क्वारेण्टाइनमा राख्ने तयारी भइरहेको छ। तर, आफूखुसी चीनबाट नेपाल आउनेहरु कहाँ के गर्दैछन् ? सरकारलाई पत्तो छैन।
‘उनीहरूलाई क्वारेण्टाइनमा नराख्दैमा केही फरक पर्दैन्, तैपनि उनीहरू कहाँ के गर्दैछन्, हामी खोजी गरेर जानकारी दिन्छौं,’ मामला गम्भीर भए पनि स्वास्थ्य मन्त्रालय सतही जवाफ दिएर पन्छिने गरेको छ ।