बूढानीलकण्ठ दुर्घटनाका अभियुक्तको नौटंकीमा अस्पतालकै साथ
(काठमाडौं) बूढानीलकण्ठमा भएको कार दुर्घटनाका संलग्न चालक पृथ्वी मल्लमाथि मेडिकल काउन्सिलबाट पनि अनुसन्धान गराउने तयारी गरिएको छ ।
जिल्ला अदालत, काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिए पनि बिरामी भएको नाटक गरेर ४५ दिनदेखि अस्पतालमै बसेपछि मल्ल पुनः छानबिनको दायरामा परेका हुन् । मल्लसँगै उनको उपचारमा संलग्न चिकित्सकमाथि पनि छानबिन हुने स्रोतले बतायो ।
कारागार व्यवस्थापन विभागका महानिर्देशक गजेन्द्रबहादुर श्रेष्ठका अनुसार, डिल्लीबजार कारागारले मल्लको अस्पताल बसाइ अस्वभाविक देखिएको भन्दै लिखित रूपमा पत्राचार नै गरेको छ । जसको आधारमा छानबिन प्रक्रिया अघि बढाइएको उनले अनलाइनखबरलाई बताए ।
स्रोतका अनुसार, यस विषयमा गृह मन्त्रालय पनि जानकार छ । पत्रको बोधार्थ मन्त्रालयमा पनि पठाइएको स्रोत बताउँछ । मन्त्रालयका प्रवक्ता सहसचिव केदारनाथ शर्माले पनि यस विषयमा विभागले नै छानबिन गरिरहेको बताए । मन्त्रालयका अर्का एक अधिकृतले थुना छलेर अस्पतालमा बस्ने प्रवृत्तिलाई निरुत्साहित गर्न आफूहरू लागि परेको बताए । स्रोतका अनुसार, प्रारम्भमा कारागारमा रहेको अस्पतालका चिकित्सकमार्फत छानबिन थालिएको छ ।
कारागारका चिकित्सकले दिने रिपोर्टको आधारमा मेडिकल काउन्सिललाई थप अनुसन्धान र कारबाहीका लागि माग गरिने स्रोतले बतायो । अहिलेसम्म मल्लको रक्तचाप अस्थिर रहेको भन्दै चिरायु अस्पतालले उनलाई डिस्चार्ज गर्न मानेको छैन ।
प्रारम्भमा उनलाई वीर अस्पताल भर्ना गरिए पनि पछि चिरायुमा रेफर गरिएको थियो । यसअघि प्रहरीको न्यायिक हिरासतमा बस्नुपर्ने बेला पनि उनी सोही अस्पतालमा भर्ना गरिएका थिए । जेलर अरुण पोखरेलका अनुसार, मल्ललाई डिस्चार्ज गरिदिन भन्दै कारागारले दुईपटक अस्पताल प्रशासनलाई पत्राचार गरिसकेको छ । तर, जवाफ आएको छैन ।
‘हामीले दुईपटक पत्र लेख्दा पनि उहाँहरूले इन्भेस्टिगेसन भइरहेको छ भनेर अल्मल्याइरहनु भएको छ,’ कारागार प्रशासनका प्रमुख जेलर अरुण पोखरेलले अनलाइनखबरसँग भने, ‘अहिले त अस्पतालले हाम्रो फोनै उठाउन छाडिसक्यो ।’