विराटनगरमा साढे ५ करोडको लगानीमा मिल्क एण्ड बेभरेज उद्योग सञ्चालन
(विराटनगर) विराटनगरमा साढे पाँच करोडको लागतमा सूर्योदय मिल्क एण्ड बेभरेज उद्योग स्थापना भएको छ।
दूग्धजन्य पदार्थको उत्पादनसँगै बिक्री वितरण गर्ने उदेश्यले स्थापना गरिएको उद्योगको बुधबार प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले उद्घाटन गरेका छन ।
डेरीको उद्घाटन गदै मुख्यमन्त्री राईले प्रदेश सरकारले कृषि उत्पादनलाई उच्च प्राथमिकतामा राखेको बताए । उनले कृषिलाई वैज्ञानिकीकरण गरी पूर्णरुपमा व्यावसायिक बनाउन प्रदेश सरकारले कृषि अनुदान कार्यक्रम अघि सारेको जानकारी दिए । मुख्यमन्त्री राईले प्रदेशले दूग्ध उत्पादनमा पूर्णरुपमा आत्मनिर्भर भइसकेकाले अव दूग्धजन्य वस्तुु उत्पादनमा समेत आत्मनिर्भर बन्नुुपर्ने बताए ।
उनले कृषि पशुुपालन तथा दूग्ध उत्पादनमा वृद्धिगर्न प्रदेश सरकार थप अनुदानका कार्यक्रम ल्याउन लागेको जानकारी दिए । प्रदेश सरकार स्थापना भएको सुरुका वर्षमा दूग्ध उत्पादनको सहज बजारीकरण गर्दै मिल्क होलिडेको समस्या समेत अन्त्य गरेको मुख्यमन्त्री राईले जानकारी दिए ।
प्रदेश नं. १ का भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री रामबहादुुर रानाले कृषिलाई व्यावसायीकरण गर्दै त्यसलाई उद्योगसँग जोड्नु आवश्यक रहेकोमा जोड दिए ।
विराटनगर १४ स्थित जतुवामा स्थापना भएको सो उधोगको दैनिक २० हजार लिटर दूध संकलनसँगै प्रशोधन गरेर बिक्री वितरण गरिने उद्योगका सञ्चालक मनोज यादवले जानकारी दिए ।