दीपिका ऋषि कपूरलाई लिएर ‘द इन्टर्न’को हिन्दी रिमेक बनाउँदै
(काठमाडौं) अभिनेत्री दीपिका पादुकोणले ‘छपाक’पछि आफ्नो आगामी होम प्रोडक्शनको फिल्म निर्माणको घोषणा गरेकी छन् ।
यो हलिउड फिल्मको हिन्दी रिमेक हुनेछ । यो फिल्ममा दीपिकासँगै ऋषि कपूर पनि मुख्य भूमिकामा हुनेछन् । यो जोडीले ‘लभ आजकल’ फिल्ममा पनि सँगै काम गरिसकेका छन् ।अभिनेत्री दीपिकाले ट्वीट गर्दै भनेकी छन्, ‘आफ्नो आगामी फिल्मलाई लिएर उत्साहित छु । ‘द इन्टर्न’का भारतीय अडेप्टेशन । यो फिल्म २०२१ मा दर्शकमाझ रिलिज हुनेछ ।’
यो फिल्मलाई दीपिकाको कम्पनी, वारनर्स ब्रदर्स र एज्यूरले संयुक्त रुपमा निर्माण गर्न लागेका हुन् । यसै फिल्मलाई लिएर कलाकार ऋषि कपुरले पनि ‘द इन्टर्न’को रिमेकमा दीपिकाको साथमा नयाँ यात्रा सुरु गर्न लागेको भन्दै ट्वीट गरेका छन् ।
दीपिकाको पहिलो होम प्रोडक्शनको फिल्म ‘छपाक’ थियो, जुन १० जनवरीबाट दर्शकमाझ रिलिजमा आइसकेको छ । तर, यो फिल्मले बक्स अफिसमा खासै कमाल गर्न सकिरहेको छैन । दोस्रो सातासम्ममा यो फिल्मले करीब ३४ करोड बराबरको बक्स अफिस कलेक्शन गरेको जनाइएको छ ।
हलिउड फिल्म ‘द इन्टर्न’लाई नैंसी मेयर्सले निर्देशन गरेका हुन्, जुन् २०१५ मा दर्शकमाझ रिलिजमा आएको थियो । रोबर्ट डी निरो र हैथवेले मुख्य भूमिका निभाएका थिए ।