आतिसबाजीको पटाकाले लियो आलोकको ज्यान
(जनकपुरधाम) जनकपुरधाम उप–महानगरपालिका–१३ का शोभित राउतको घरमा एक बर्ष अगाडि डकैती भयो । जग्गा बेचेर ल्याएको ५ लाख रुपैयाँ घरमा ल्याएको सुराकी पाएर आएको डाँकाहरुको समूहले उनको टाउको फुटाइदिए । परिवारका अरु सदस्यलाई पनि कुटपि गर्दै रकम लुटेर लग्यो ।
‘छोराको मुख हेरेर त्यो घटना झण्डै बिर्सिसकेको थिएँ’ शोभित भक्कानिए, ‘तर अब छोरा पनि रहेन । कसलाई हेरेर सन्तोष गरुँ ?’
१३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तरगत जनकपुरधाममा आयोजित कुस्ती खेलको उद्घाटनमा आतिसवाजीका क्रममा पड्किन बाँकी पटकाका कारण उनका ११ बर्षीय छोरा आलोकको ज्यान गएको हो । मंसिर २० गते यहाँ भएको कुस्ती उद्घाटनका क्रममा पटकाहरु पड्काइएको थियो । तर एकै पटक धेरै पटाकामा आगो लगाए पनि कतिपय पड्किन सकेको थिएन । त्यसको भोलिपल्ट घुम्न आएका आलोकले नपड्केको पटाका भेटे र घर लगे ।
‘पटाका ल्याएको देखेपछि उनका बुवा शोभितले खोसेर फ्याँकिदिए’ आलोकका मामा गोपी साहले भने, ‘तर बाल चञ्चलताले फ्याँकेको पटाका पुनः घर ल्याएर पड्काए । पटाका उनको हातमै फुट्यो ।’
त्यसक्रममा घाइते भएका आलोकको उपचारका क्रममा धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मंगलबार मृत्यु भएको छ ।