करोडौंका मेसिनमा माकुराको जालो
(काठमाडौं) घाइते यात्रुको भनाइलाई मान्ने हो भने आइतबार सिन्धुल्चोकमा दुर्घटनाग्रस्त बसको स्टेयरिङ र ब्रेकमा समस्या थियो । सो दुर्घटनामा १५ जनाको ज्यान गयो । यसअघि बसको ब्रेक पाइडल नै फुटेपछि सिन्धुपाल्चोककै सुकुटेस्थित सुनकोशी नदीमा बस खस्दा १८ जनाले ज्यान गुमाउनुपरेको थियो ।
गाडीको अवस्था जीर्ण भइसक्दा पनि दौडाइरहने प्रवृत्तिका दुखद परिणाम हुन् यी । बितेको एक महिनाकै बीचमा २ सयभन्दा बढी यात्रुको ज्यान जाने गरी भएका सवारी दुर्घटनाका पछाडि यान्त्रिक गडबडीको हात कति थियो भन्ने विश्लेषण हुन बाँकी छ । तर, राजमार्ग र ग्रामीण क्षत्रेमा चल्ने धेरै सार्वजनिक सवारीको प्राविधिक अवस्थाले चाहिँ कुनै पनि बेला दुर्घटनामा पर्न सक्ने खतराको संकेत गर्छ ।
यातायात व्यवसायी र चालकलाई थोत्रा गाडी चलाउन सरकारले नै सहयोग गरिरहेको छ । यो निश्कर्ष टेकुको सवारी परीक्षण केन्द्रमा पुग्ने जोकोहीले निकाल्न सक्छन् । यो केन्द्रका अत्याधुनिक मेसिनहरुमा माकुरोले जालो लगाएका छन् र धुलोले ढप्पकै ढाकिएका छन् । त्यति मात्रै हैन, खिया लागेर काम नलाग्ने हुन लागिसकेका छन् महंगा उपकरण । कति मेसिनलाई धुलोबाट बचाउन प्लाप्टिक र कार्टुनले छोपेर राखिएको छ त कति खुलै छोड्दा जीर्ण बनिसके ।
करोडौं लगानी गरेर यो केन्द्र खोल्नुको मुख्य उद्देश्य थियो, यान्त्रिक कारणले हुने दुर्घटना कम गर्नु । पछिल्लो समयमा सवारी दुर्घटना उच्च दरमा बढ्दै गर्दा यो केन्द्रको हालतले सरकारलाई नै गिज्याइरहेको छ । जे उद्देश्यले यो केन्द्र खोलिएको थियो, त्यसका लागि काम नै सुरु नभएपछि कसरी घटोस् त दुर्घटना !
सार्वजनिक सवारीको प्राविधिक पक्षको जाँच गर्न टेकुमा आधुनिक प्रणाली स्थापित भएको ८ वर्ष बित्न लाग्यो । तर, मेसिनमार्फत हुने सवारी जाँचबाट प्राप्त हुने ‘एकुरेसी’ (बास्तविक तथ्यांक)सँग यातायात तथा अटोमोबइल व्यवसायी डराए । सरकारी अधिकारीले पनि आफ्नो जाँचपासमा प्राप्त हुने अतिरिक्त कमाइको बाटो बन्द हुने डरले चुपचाप व्यवसायीलाई साथ दिए ।
सरकार र व्यवसायीको सहमतिमै यी मेसिन थन्क्याएर राखिएको हो । अहिलेसम्म स्थापित आधुनिक प्रणालीलाई सार्वजनिक बस र ट्रक व्यवसायीले मात्रै हैन, सरकारले पनि बेवास्ता गरिरहेकै छ । सवारीको अवस्था ठीक छ कि छैन भनेर जाँच गर्न त्यतिबेला ६ करोडको लागतमा स्थापित प्रणाली प्रयोगमा नआउँदै बिगि्रसकेको छ । यसलाई सञ्चालनमा ल्याउन थप लाखौं खर्चिनुपर्ने अवस्था रहेको विभागका एक अधिकारीले बताए ।
सवारी दुर्घटना बढेको भन्दै सातै प्रदेशमा ‘भेहिकल फिटनेस टेस्ट सेन्टर’ खोल्नुपर्ने बताउँदै हिँडेका छन् यातायात व्यवस्था विभागका अधिकारी । तर करोडौंको लगानीमा खुलेको टेकुको ‘फिटनेस टेस्ट सेन्टर’ भने उनीहरुले नै प्रयोगविहीन बनाएर छोडेका छन् ।
यसलाई प्रयोगमा ल्याउन नदिन सरकार र व्यवसायीबीच नै साँठगाँठ रहेको बताउँछन् उपभोक्ता अधिकारवादीहरु । यातायात उपभोक्ता अधिकारवादी रामबहादुर थापाले यो सेन्टर सञ्चालनमा ल्याए नेपालमा चलिहरेका धेरै सवारी प्राविधिक रुपमा अयोग्य ठहरिने दावी गरे । यो सेन्टरमा यस्ता अत्याधुनिक त्यस्ता मेसिनहरु जोडिएका छन्, जसले सवारीको विभिन्न प्राविधिक पक्षको विश्लेषण कम्प्युटराइज्ड प्रविधिमा स्मार्ट तरिकाले गर्छ ।
हालसम्म ती मेसिनहरु कुनै पनि प्रयोगमा ल्याइएका छैनन् । यहाँ अहिले उपत्यकामा चल्ने ट्याक्सी र पर्यटक सवारीको मात्रै फिटनेस जाँचिन्छ । रोचक कुरा के छ भने यस्तो जाँच मेसिनबाट भने होइन, आँखाले गरिन्छ । आँखाले देखेर मनले ‘गाडी ठीक छ’ भनेपछि परीक्षणमा सवारी ‘पास’ । यहाँ मात्रै हैन, देशका १४ अञ्चलमा नै सवारी कार्यालयमा यसैगरी ६-६ महिनामा सवारीको जाँचपास यसैगरी हुन्छ । त्यसरी जाँचपास गर्दा बास्तविक सवारीको यान्त्रिक गडबडी पत्ता नलागेपछि खोलिएको यो परीक्षण केन्द्रलाई पनि त्यही अवस्थामा ल्याएर छाडिएको छ अहिले ।
अझ कति गाडी त हेर्दै नहेरी जाँचपास गरिन्छ, कागजपत्र मिलाएर । ‘गाडी जाँचपासमा लैजाँदा दिनभरिमा १०-१५ हजार घाटा हुन्छ व्यवसायीलाई त्यसैले कतिले त १ देखि ५ हजारसम्म घुस दिएर सिधै जाँचपासको कागज बनाउँछन्,’ थापा भन्छन् । केन्द्रका निमित्त प्रमुख अर्जुनकुमार चौधरी सरकारी नीति र जनशक्ति अभाव लगायतका कारणले मेसिनहरु प्रयोगमा ल्याउन नसकिएको बताउँछन् । सरकारले नै परीक्षण केन्द्रको प्रयोगलाई सीमित बनाएको उनको भनाइ छ ।
प्रदुषण मापन गर्नेबाहेक अरु सबै काम मेसिनबाट हुँदैन । अहिले त डिजेल गाडीको प्रदुषण जाँच्ने मेसिन पनि बिगि्रएको छ । अब त केन्द्रले प्रदुषणको जाँचको पनि आँखाले नै हेरेर नतिजा निकाल्छ ।