पाकिस्तानमा सेनाले आन्दोलनबारे मुख खोल्यो
(इस्लामाबाद) पाकिस्तानमा प्रधानमन्त्रीको राजीनामा माग्दै प्रदर्शन भइरहँदा यहाँको सेनाले प्रधानमन्त्री इमरान खानलाई समर्थन दिएको छ ।
उसले निर्वाचित सरकार र संविधानलाई समर्थन गर्ने जनाएको हो । तर विपक्षी दलसहित हजारौं मानिस प्रधानमन्त्रीले आइतबारसम्म राजीनामा दिनुपर्ने भन्दै सडकमा उत्रिएका छन् । ‘हामी कानुन र संविधानमा विश्वास गर्छौँ । साथै हाम्रो समर्थन लोकतान्त्रिक तरिकाले चुनिएको सरकारलाई हुन्छ । न कि, कुनै पार्टीलाई,’ सैनिक प्रवक्ता मेजर जनरल असिफ घफुरले टेलिभिजन च्यानलसँग भनेका छन् ।
विपक्षी दलका नेताले इमरान खान नेतृत्वको सरकार अवैधानिक भएको आरोप लगाएको छ । घफुरले विपक्षी नेतालाई लक्षित गर्दै सेना राजनीतिमा सामेल नहुने चेतावनी दिएका छन् । यसअघि सैनिक प्रमुख जेनरल क्वमर जभेद बज्वाले प्रदर्शनलाई शान्तिपूर्ण रुपमा नियन्त्रणमा लिन आग्रह गरेका थिए ।