फोटो टाँसेकोप्रति निर्माण व्यवसायी महासंघको आपत्ति ‘हाम्रो मानमर्दन भयो, कानूनी उपचार खोज्छौं’
(काठमाडौं) अघिल्लो साता हाईप्रोफाइल ठेकेदार शारदाप्रसाद अधिकारीको फोटो यत्रतत्र टाँसेर कमलविनायक–नगरकोट खण्डका स्थानीयले नयाँ शैलीको विरोध अभियान सुरु गरे । यसले मिडिया र सामाजिक सञ्जालमा पर्याप्त चर्चा पाएपछि अन्यत्र पनि यस्तै सिको गर्न थालिएको छ ।
अधिकारीको फोटोको मास्तिर बाँदरको फोटो राखिएको थियो र लेखिएको थियो– कालोपत्रे छिटो गर । साढे २ वर्षमा सकिनुपर्ने काम ७ वर्षमा पनि नसकिएकपछि स्थानीयले विरोधको यस्तो फरक शैली अपनाएका थिए । त्यसको प्रभावस्वरुप उक्त सडकमा कामले तीव्रता पाएको खबर आइरहेको छ ।
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका घरबेटीसमेत रहेकाले अधिकारी पहिल्यैदेखि चर्चा अनि विवादमा थिए । त्यसैले गर्दा पनि उनको यसरी ‘सार्वजनिक बेइज्जती’ गरिँदा नेकपा विरोधीहरुले स्वाद माने । टायर बालेर वा नाराजुलुस गरेर गरिने विरोधभन्दा यो तरिकालाई सर्वसाधारणले पनि मन पराएका छन् । तर, निर्माण व्यवसायीहरुले भने यसलाई आपत्तिजनक मानेका छन् ।
दोलखाको मुडे–चरिकोट सकडखण्डको काम गरिरहेको शंकर माली जेभी कन्सट्रक्सनका सञ्चालक दीपक सापकोटाको फोटो पनि त्यसैगरी टाँसिए । दुई वर्षको काम चार वर्षमा पनि नसकिएपछि सापकोटाको फोटो सार्वजनिक सवारी र चरिकोटका सार्वजनिक स्थानमा झुन्ड्याइएका हुन् ।
‘जनताबाट उश्रृङ्खल तरिकाले व्यवसायीमाथि प्रहार हुनुहुँदैन । हामी यसबाट थप प्रताडित र आतंकित भएका छौं । व्यक्तिगत रुपमा यसरी मानमर्दन भइरहे कानूनी उपचारमा जान बाध्य हुनेछौं ।’ रवि सिंह अध्यक्ष, निर्माण व्यवसायी महासंघ विरोधको यो शैली देशभर फैलने हुने डर निर्माण व्यवसायीमा देखिएको छ । किनकि तोकिएको समयमा निर्माण सम्पन्न नहुने समस्या यत्रतत्र छन् र तिनीहरुमा ठेकेदारलाई नै दोष दिने गरिएको छ ।
नेपाल निर्माण व्यवसायी महासंघले विरोधको यो शैलीले ठेकेदारको मानमर्दन भएको बताएको छ । यसरी तस्वीर टाँस्ने क्रम चलिरहे त्यसको कानूनी उपचार खोज्ने महासंघको चेतावनी छ ।
महासंघका अध्यक्ष रवि सिंह भन्छन्, ‘जनताबाट उश्रृङ्खल तरिकाले व्यवसायीमाथि प्रहार हुनुहुँदैन । हामी यसबाट थप प्रताडित र आतंकित भएका छौं । व्यक्तिगतरुपमा यसरी मानमर्दन भइरहे कानूनी उपचारमा जान बाध्य हुने छौं ।’
स्थानीय बासिन्दाले ठेकेदारलाई तारो बनाएर विरोध सुरु गर्दा सरकारी निकायहरु भने मौन छन् । यद्यपि, सडक विभागका अधिकारीहरु सबै दोष व्यवसायीलाई मात्रै दिन नहुने बताउँछन् ।
सडक विभागका उपमहानिर्देशक तथा प्रवक्ता शिवहरि सपकोटा आयोजनाको सफलता/असफलतामा एक पक्ष मात्रै जिम्मेवार नहुने बताउँछन् । 'ठेक्का भनेको दुई पक्षको करार हो । करारकै आधारमा परिणाम निस्कनुपर्छ । यसमा सरकार काम दिने पक्ष हो भने व्यवसायीहरु काम लिने पक्ष हो । काम दिनेले काम गर्ने वातावरण बनाइदिनुपर्छ, लिनेले पनि इमान्दारीपूर्वक काम गर्नुपर्छ,,’ उनी भन्छन् ।
बजेटको सही विनियोजन गर्ने, पूर्वतयारी गरेर ठेक्का लगाउने, साइट समयमै क्लियर गर्ने, योजना बनाएर काम पनि फटाफटी गर्ने, त्यसको भुक्तानी पनि समयमै दिने, जनताको पक्षबाट पनि सहयोग हुने र समस्या समाधानमा सबै जिम्मेवार बन्ने हो भने यस्तो परिस्थिति नआउने सापकोटाले बताए ।
उनले भने, ‘आयोजनामा उत्पन्न समस्याको जडमा पुगेर समस्या समाधान गर्नुपर्छ ।’