फोहोरमैला विसर्जन गर्ने योजनामा ढिलाइ
(बनेपा) फोहोरमैला व्यवस्थापनका लागि नेपालमै पहिलो पटक जापानी प्रविधि भिœयाउने योजना बनाएको बनेपा नगरपालिकाले अझैसम्म सो कार्य सुरु गर्न नसक्दा सहरभरि फोहोरको डंगुर थुप्रन थालेको छ।
दसैं र तिहारमा सबैभन्दा बढी सास्ती खेपेका नगरवासी दिनहुँजसो फोहोरमैला थुप्रँदा हैरानी खेप्न बाध्य छन्। सबै खालका फोहोरमैलालाई जलाएर विसर्जन गर्ने जापानी मेसिन स्थापना गर्ने कार्यमा सधैंभरि अवरोध भइरहँदा ढिलाइ भएको प्रमुख प्रशासकीय अधिकृत भोजराज घिमिरेको भनाइ छ।
उनले भने, ‘हनगरक्षेत्रभित्र उत्पन्न हुने फोहोरमैला संकलन तथा व्यवस्थापनको जिम्मा हामीले निजी कम्पनीलाई दिएका छौं। उसैले वातावरणमैत्री प्रविधिबाट जलाएर विसर्जन गर्ने प्रस्तावलाई स्वीकृत पनि गरेका हौं। तर, नगरपालिकाको स्वामित्वको जग्गामा मेसिन जडान गर्ने योजनामा वडा नं ९ का स्थानीयको अवरोधले ढिलाइ भइरहेको हो,’ उनले थपे।
फोहोर विसर्जनकै लागि वर्षेनी डेढ करोड रूपैयाँभन्दा बढी रकम बनेपाले खर्च गर्दै आएको छ। फोहोरमैलाको दीर्घकालीन समस्या समाधानका लागि नगरपालिकाले बनेपा–१४, चतुरे भन्ने ठाउँमा किनेको जमिनमा पूर्वाधार तयारीमा अझै दुई वर्ष लाग्ने भएकाले मेसिनबाट फोहोरमैला जलाउनुबाहेक अन्य विकल्प नरहेको उनको तर्क छ। उनले भने, ‘हालसालै किनेको जग्गामा पहुँचमार्ग लगायतका पूर्वाधारको तयारीमा अझै दुई वर्ष जति लाग्ने देखिएको छ। एकातिर आइटीपार्क अगाडिको जग्गामा फोहोरमैलाको वर्गीकरणलगायत व्यवस्थापन गर्ने काममा सबैतिरबाट असहयोग भइरहने र अर्कातिर सहरमा फोहोर थुप्रने समस्या बल्झिरहेकाले बाध्यतावश प्रविधिको सहारामा फोहोर जलाउन लागेका हौं,’ बादेले थपे।
वि.सं. २०३८ सालमा गठन भएको बनेपा नगरपालिकालाई सुरुवाती दिनमा फोहोरमैला विसर्जनको समस्या थिएन। सहरी बस्ती बढ्ने क्रमसँगै २०५२ सालमा आइटी पार्कअगाडि ३० रोपनी जग्गा किनेर नगरपालिकाले फोहोर विसर्जन गर्दै आएको थियो। ‘त्यतिखेर बस्ती थिएन र उक्त क्षेत्रलाई उपयुक्त मानेर सहमतिमा नगरको फोहोर विसर्जन गर्न थालिएको थियो। पछि विस्तारै बस्ती बढेको, महत्वपूर्ण संघसंस्था र निकायसमेत त्यही क्षेत्रमा आएकाले हामी पनि विकल्पको खोजीमा थियौं,’ नगर प्रमुख लक्ष्मी नरसिंह बादेले भने।
विगतमा नगरपालिकाले फोहोरमैलाको व्यवस्थापन आफैंले गर्दै आएको र वर्षेनी बढ्दो खर्च धान्न नसक्ने भएकाले आर्थिक वर्ष ०७४/७५ को नगरसभाबाटै निजी क्षेत्रलाई जिम्मा दिने निर्णय गरेको हो। जसअनुसार ग्रिनपिस इन्भाइरोमेन्ट प्रालिले हाल नगरवासीसँग सशुल्क फोहोर उठाउने र व्यवस्थापन लगायतका काम गर्दै आएको छ। ‘कम्पनीसँग सम्झौतामा फोहोर विसर्जनस्थल नगरपालिकाले उपलब्ध गराइदिने सर्त अनुसार २२ वर्षअघि नगरपालिकाले किनेको पुरानै जमिन र हालै किनिएको जमिन दुवैमा उसलाई ठाउँ दिन सकेनौं। अहिले हाम्रै स्वामित्वको कृषि फार्म रहेको जमिनमा फोहोर जलाएर बिसर्जनका लागि कम्पनीलाई ठाउँ दिन लागेका हौं,’ उनले थपे।
नगरपालिकाको फोहोरमैला समस्या दिन–प्रतिदिन विकराल बन्दै गएपछि जिल्ला समन्वय समिति, काभ्रेका प्रमुख उद्धव केसी र प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाले चासो लिएका छन्। दुवैको सक्रियतामा शुक्रबार जिल्ला समन्वय समितिमा आयोजित सर्वपक्षीय बैठकले फोहोरमैलाको समस्या समाधानका लागि सबै सरोकारवाला क्रियाशील भएर लाग्ने निर्णय भएको छ। निर्णयमा ‘नगरक्षेत्रबाट निष्काशित फोहोरमैलाको विसर्जनका लागि वडा नंं ९ स्थित नगरपालिकाको आफ्नै जग्गामा जापानी मेसिन जडान गर्ने र प्रयोगमा ल्याउने, सो क्रममा सर्वसाधारणको स्वास्थ्य र वातावरणमा प्रतिकूल असर पर्ने देखिएमा नगरपालिकाले सो मेसिन फिर्ता लैजाने निर्णय भएको छ,’ बादेले भने।
स्थानीय निर्वाचनमा उम्मेदवारीकै बखत बनेपाको फोहोरमैलाको व्यवस्थापन गर्ने मुख्य एजेन्डा बोकेका नगर प्रमुख बादेले निर्वाचनलगत्तै उपप्रमुख रेखा दाहाललाई फोहोरमैला व्यवस्थापनको उचित निर्णय लिनका लागि अधिकारसम्पन्न फोहोरमैला व्यवस्थापन समितिको संयोजक तोकेका थिए। दाहालकै संयोजकत्वको समितिले नयाँ जग्गा किन्ने काम सम्पन्न गरेको छ भने पूर्वाधार तयारीका योजना बनाइरहेको छ।
तीव्र सहरीकरणसँगै बनेपामा दिनहुँ ५ देखि ८ मेट्रिक टन फोहोरमैला निष्कासन हुने गरेको नगरपालिकाको तथ्यांक छ। स्थानीयको अवरोधपछि आइटी पार्क अगाडिको जग्गामा फोहोर वर्गीकरण बन्द भएको छ। यतिखेर सबै खालका फोहोरमैलालाई वर्गीकरणबिना नै काठमाडौं महानगरपालिकाको सिसडोलस्थित ल्यान्डफिल साइटमा पठाउन थालिएको छ। ‘दिनहुँ ठूलो टिपरमा फोहोरमैला उतै पठाइरहेका छौं। फोहोर ढुवानीका टिपरलाई भाडाबापत दैनिक ४० हजार रूपैयाँ नगरपालिकाले थप खर्च गर्न बाध्य भएका छौं। तर, यो स्थायी समाधान होइन,’ बादेले भने।
यसैबीच नगर प्रमुख, उपप्रमुखलगायत समिति पदाधिकारी र वडा अध्यक्षले जापानस्थित चुवा इन्डस्ट्रियल कम्पनी लिमिटेडबाट उत्पादित ‘इन्डस्ट्रियल इन्सिनरेटर’को सानो स्केलको डेमो मेसिनको अवलोकन गरिसकेका छन्। सो मेसिन हिटा ग्रुप प्रालिले काठमाडौंमा भिœयाएको हो। सोही कम्पनीले ठूलो क्षमताको इन्डस्ट्रियल इन्सिनरेटर पनि झिकाइराखेको जानकारी दिएको छ। कम्पनीले मेसिनमात्रै जडान गर्न दुई रोपनी जग्गा चाहिने बताएको छ। ‘हामीले कृषि फार्मको जग्गामात्रै उपलब्ध गराउने हो। फोहोर व्यवस्थापनको सम्झौता गरेको कम्पनीले नै मेसिन जडान गर्ने र फोहोर पनि उसैले जलाएर बिसर्जन गर्ने हो। नगरपालिकाले नै मेशिन किन्न लागेको होइन’, प्रमुख प्रशासकीय अधिकृत घिमिरेले दाबी गरे।
उता, कृषि फार्म रहेको जग्गामध्येको आधाभन्दा बढी क्षेत्रफलमा अन्तर्राष्ट्रिय कला केन्द्र राख्नका लागि नगरपालिकाले जग्गा प्रदान गरिसकेको र मानव स्वास्थ्यमा समस्या पर्ने भएकाले मेसिन राख्न दिँदैनौं भन्दै वडा नं ९ का वडाध्यक्षसहित स्थानीयले विरोध गर्दै आएका छन्। शुक्रबारको सर्वपक्षीय बैठकको निर्णयमा पूर्वउद्योग राज्यमन्त्री एवं नेपाली कांगे्रसका नेता कन्चनचन्द्र बादेले असहमति (नोट अफ डिसेन्ट) लेखेका छन्। उनले भने, ‘दिनहुँ ठूलो परिमाणमा फोहोर जलाउने क्रममा पर्न सक्ने वातावरणीय प्रभाव मूल्यांकन (इआइइए) र सामाजिक प्रभावबारेको प्राविधिक प्रतिवेदन नआउँदासम्म निर्णयमा सहमत हुन सक्दैनौं भनेर असहमति जनाएर आएको छु,’ नागरिककर्मीसँग फोनमा भने।
यसअघि पनि साउन दोस्रो सातामा तत्कालीन प्रजिअ उदयबहादुर रानामगरको संयोजकत्वको बैठकले स्थानीयवासीको स्वास्थ्य र वातावरणमा पर्ने असरबारेमा प्राविधिक अध्ययन गरेरमात्रै मेसिन जडान गर्न नगरपालिकालाई सुझाव दिएको थियो। संयुक्त राष्ट्र औद्योगिक विकास संगठन (युनिडो)का अनुसार चुवा इन्डस्ट्रियल लिमिटेडको उत्पादन ‘चुवास्टार इन्सिनरेटर’ धँुवारहित र वातावरणमैत्री भएकाले संसारका धेरै मुलुकमा प्रयोग भइरहेको छ। बनेपा नगरपालिकाको कृषि फार्ममा जडान गर्न लागिएको ‘इन्डस्ट्रियल वेस्ट इन्सिनरेटर’ पनि सोही जापानी कम्पनीको उत्पादन हो। ‘फोहोर (प्लास्टिकजन्यसमेत) बाल्दा मेसिनबाट निस्कने धुँवालाई तातोपानीको वाफले नियन्त्रण गर्ने भएकाले धुँवा र गन्ध पटक्कै आउँदैन,’ युनिडोले वेबसाइटमा उल्लेख छ।