आजदेखि ३७९ वर्ष पुरानो कात्तिक नाच
(काठमाडौं) यस वर्षको कात्तिक नाच आजदेखि सुरु हुँदैछ ।
३७९ वर्ष पुरानो सांस्कृतिक महत्त्व बोकेको यो नाच पाटन दरबार क्षेत्रको कात्तिक डबलीमा १२ दिनसम्म नियमित देखाइन्छ ।
मल्लकालीन राजा सिद्धिनरसिंह मल्लले हरेक वर्ष कात्तिक महिनामा नृसिंह नाचका रूपमा पाटन दरबारको पश्चिममा रहेको डबलीमा देखाउने गरेकाले यसलाई कात्तिक नाचको नाम दिइएको बताइन्छ । यो नाचमा पछि उनका छोरा श्री निवास मल्लले बाथः प्याँख (लोक नाटक) १० दिन थपेर १५ दिनको पुर्याएको इतिहासकारहरुको भनाइ छ ।
यसै नाचलाई श्री निवास मल्लका छोरा योगनरेन्द्र मल्लले उषाहरण तथा माधव वानल लीला थपेर कात्तिक महिनाभरि २७ दिन सञ्चालन गरिएको इतिहास छ । २७ दिनसम्म देखाइने यो नाचमा भिन्न विषयवस्तु तथा भिन्न कथामा आधारित रहेर बेग्लाबेग्लै नाच नदोहोर्याई देखाइन्छ । विशेष गरी विष्णु पुराणमा आधारित भएर नृत्य गर्दै नाटक मञ्चन गरे जसरी भिन्न भिन्न पात्रको प्रस्तुति नै कात्तिक नाच हो ।
कात्तिक नाचको प्रमुख र विशेष नाच नृसिंह अवतारमा हिरण्य कश्यपुलाई नृसिंहले वध गरिने नाच देखाउने तयारी कात्तिक नाच संरक्षण समितिले गरेको छ ।