आलमलाई बयानका लागि अदालत उपस्थित गराइयो
(रौतहट) १२ वर्ष अगाडि बम विष्फोटको घटनामा घाइते भएकाहरुलाई इँटाभट्टामा जलाएर हत्या गरेको आरोपमा पक्राउ परेका कांग्रेस नेता मोहम्मद अफताव आलमको बयान मंगलबारबाट सुरु हुँदै छ ।
जिल्ला अदालत रौतहटका न्यायाधीश दीपक ढकालको इजलासमा उनको बयान हुन लागेको हो । बयानका लागि आलमलाई अदालतमा उपस्थित गराइसकिएको छ ।
आलमलाई जन्मकैदको मागदाबीसहित जिल्ला सरकारी वकिलको कार्यालयले सोमबार अदालतमा मुद्दा दायर गरेको थियो । सरकारी वकिल खडिन्द्रराज कटुवालका अनुसार मंगलबार अदालतमा पेश गरिएको मिसिलको नक्कलप्रति आलमको पक्ष-विपक्षमा बहस गर्ने वकिलहरुलाई वितरण गर्ने र आलमसँग बयान लिने काम हुने छ ।
प्रहरीले तयार पारेको अनुसन्धान रिपोर्टसहितको मिसिल आठ सय पृष्ठको छ । आलमको पक्ष-विपक्षमा बहस गर्ने वकिलहरुले सो मिसिल अध्ययन गरिसकेपछि अदालतमा थुनछेक बहस सुरु हुने छ । मिसिल धेरै पृष्ठको भएकाले अध्ययन गर्न समय लाग्ने हुँदा थुनछेक बहस सुरु हुन पनि केही दिन लाग्ने अनुमान छ ।
पीडितको पक्षमा पुष्पराज पौडेल, आशिकराम कार्की, गोविन्द शर्मा बन्दी, रुद्र पोखरेल लगायतले बहस गर्ने बताइएको छ । यस्तै पूर्वन्यायाधीवक्ता डा. युवराज संग्रौलालगायतले पनि पीडितको पक्षमा निःशुल्क बहस गर्ने तयारी गरेका छन् ।
सरकारी वकिलको तर्फबाट खडिन्द्रराज कटुवाल, रामप्रसाद पन्थी, सहन्यायधीवक्ता सूर्यराज दाहाललगायतले बहस गर्ने बताइएको छ ।
आलमको तर्फबाट बहस गर्नेहरुको नाम भने अझै एकिन भइसकेको छैन ।