कर्फ्यु हटाउने स्थानीय प्रशासनको संकेत
(बुटवल) लक्ष्मीपूजाको मूर्ति बिसर्जनको क्रममा विवाद भएपछि कपिलवस्तुको कृष्णनगरमा उत्पन्न तनाव साम्य भएको छ । आजै कर्फ्यु हटाउने संकेत स्थानीय प्रशासनले दिएको छ ।
बिहीबार राति अबेर स्थानीय, सम्बन्धित पक्ष, कपिलवस्तु जिल्ला प्रशासन र सुरक्षा निकायका प्रदेश प्रमुखहरुसहितको सर्वपक्षीय वार्ताबाट लक्ष्मी पूजाको मूर्ति बिसर्जन गर्ने र प्रहरीको गोलीबाट मारिएका व्यक्तिको शव उठाउने सहमति भएको छ ।
यद्यपि बिहीबार बिहानदेखि लागेको कर्फ्यु भने हटाइएको छैन । बिहीबार मध्यान्ह कृष्णनगर भन्सार कार्यालयदेखि ७ सय मिटर उत्तर, पश्चिमतर्फ ७ सय मिटर र पूर्वतर्फ ३ सय मिटरको क्षेत्रमा लगाइएको कर्फ्यू अर्को आदेश नभएसम्मका लागि जारी रहेको कपिलबस्तुका प्रमुख जिल्ला अधिकारी गजेन्द्र बहादुर श्रेष्ठले बताए । शुक्रबार मध्यान्हसम्म कर्फ्यु पनि हट्न सक्ने श्रेष्ठले बताए ।
वार्तापछि प्रहरीको सहयोगमा लक्ष्मीपूजाको मूर्ति राति नै बिसर्जन गरिएको र मृतकका आफन्तले शव बुझेर पोष्टमार्टमका लागि जिल्ला अस्पताल तौलिहवा लगेको कपिलवस्तुका प्रहरी प्रमुख प्रहरी उपरीक्षक दीप शमशेर जबराले बताए । ‘राति अबेर मात्रै सम्बन्धित पक्ष वार्तामा आउनुभयो र बिहान ३ बजेसम्मको वार्तापछि सहमतिमा पुग्यौं,’ उनले भने, ‘मृतकलाई क्षतिपूर्ति लगायतका मागहरु छन्, केही जिल्लास्तरबाट र केही केन्द्रबाट सम्बोधन गर्नुपर्ने खालका छन्, सबैभन्दा महत्वपूर्ण कृष्णनगरमा साम्प्रदायिक सदभाव कायम राख्ने कुरामा दुवै पक्ष एकमत भयौं ।’
बुधबार लक्ष्मीपूजाको मूर्ति बिसर्जनको र्यालीलाई प्रहरीले मुस्लिम बाहुल्य बस्तीबाट नलैजान आग्रह गरेको विषयमा विवाद बढेको थियो । स्थिति तनावपूर्ण भएपछि जिल्ला प्रशासन कार्यालयले बिहीबार कृष्णनगर क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु लगाएको थियो । कर्फ्युकै क्रममा प्रहरीले गोली चलाउँदा भारतको बढनी घर भइ कृष्णनगरमा व्यवसाय गर्ने १८ वर्षका सुरजकुमार पाण्डेको मृत्यु भएको थियो ।
कृष्णनगरमा गत वर्ष पनि मूर्ति बिसर्जनका क्रममा विवाद भएको थियो । हिन्दू र मुस्लिम समुदायसँग जोडेर विवाद बढ्दै जाँदा हिंसात्मक घटना हुने गरेका छन् ।
बिहीबार राति ११ बजेसम्म घटनासँग जोडिएका पक्ष नआएपछि सर्वपक्षीय वार्ता हुन सकेको थिएन । सुरक्षा स्थिति बिग्रन नदिन नेपाल प्रहरीका प्रदेश ५ प्रमुख प्रहरी नायब उपरीक्षक सुरेशविक्रम शाहसहित सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका डीआईजी बिहीबार कृष्णनगर आएका थिए ।
नेपाल पत्रकार महासंघ कपिलवस्तुका पूर्व अध्यक्ष एवं महासंघका केन्द्रीय सदस्य बसन्त गिरी राजनीतिक स्वार्थका लागि कृष्णनगरमा बारम्बार हिन्दु र मुस्लिम समुदायबीच विवाद गराउने र त्यसमा खेलेर आफ्नो निहीत स्वार्थ पूरा गर्ने काम जनप्रतिनिधिहरुले गर्दै आएको दाबी गर्छन् ।