मन्त्री पदबाट हटाइएका महासेठको जनकपुरमा स्वागत
(जनकपुरधाम) आइतबार साँझ जनकपुर विमानस्थलमा काठमाडौंबाट आएको विमानबाट प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत र केही दिनअघि मन्त्री पदबाट हटाइएका रघुवीर महासेठ र मातृका यादव ओर्लिए ।
तीन जनालाई स्वागत गर्न हातमा फूल लिएर सयौं व्यक्ति विमानस्थलमा भेला भएका थिए । कर्मचारी र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकर्ताहरु मुख्यमन्त्री र नेकपाका दुई नेतालाई स्वागत गर्न प्रतिक्षारत थिए । मुख्यमन्त्री राउतलाई स्वागत गर्न मुख्य सचिव रामकृष्ण सुवेदी, मुख्यमन्त्रीका सल्लाहकारहरु पुगेका थिए । केहि दिनअघि अमेरिका गएका मुख्यमन्त्री राउत र मुख्य न्यायाधिवक्ता दीपेन्द्र झा काठमाडौं हुँदै आइतबार जनकपुरधाम आएका हुन् ।