हागिबिसका कारण कम्तीमा २३ को मृत्यु, उद्धारका लागि सेना परिचालन
(टोकियो) जापानमा आएको ‘हागिबिस’ नामक तुफानका कारण कम्तीमा २३ जनाको मृत्यु भएपछि सरकारले दशौं हजार सेना र उद्धारकर्मी परिचालन गरेको छ ।शनिबार दक्षिण टोकियाबाट सुरु भएको हागिबिस तुफान उत्तरतर्फ बढिरहेको छ । आँधीसँगैको अविरल वर्षाका कारण कयौं नदीमा बाढी आएको र नदीको पानी बस्तीहरुमा पसेका कारण ठूलो जनधनको क्षति भएको सरकारी अधिकारीहरुलाई उद्धृत गर्दै बिबिसीले उल्लेख गरेको छ ।
जापानको सार्वजनिक प्रसारण संस्था एनएचकेका अनुसार तुफानका कारण १७ मानिस हराइरहेका छन् । केन्द्रीय नागोया जिल्लास्थित जापानको प्रसिद्ध बुलेट रेलहरुमा पनि जलमग्न भएको र बाढीमा फसेका स्थानीयलाई घरको छतबाट हेलिकप्टरमार्फत उद्धार गरिएको छ । उद्धार तथा राहत कार्यका लागि २७ हजार सेना र अन्य उद्धारकर्मी परिचालन गरिएको अधिकारीहरुले बताएका छन् ।
भू–संरचना, यातायात तथा पर्यटन मन्त्रालयले दिएको जानकारीअनुसार आँधीपछि विभिन्न १२ राज्यका कम्तीमा ४८ स्थानमा पहिरो गएको छ भने २१ नदीमा बाँध फुटेका कारण ठूलो क्षति भएको उल्लेख छ ।
‘सरकारले सक्ने जति गर्नेछ,’ आवश्यक परे थप सेना परिचालन गर्ने प्रतिबद्धता व्यक्त गर्दै जापानी प्रधानमन्त्री सिन्जो आबेले बताएका छन् । शनिबार शक्तिशाली रहेको आँधी आइतबारबाट भने केही कमजोर भएको बताइएको छ ।