राजधानी काठमाडौं सुविधायुक्त विद्युतीय बस सञ्चालनमा भाडामा २० प्रतिशत छुट
२३ भदौ, काठमाडौं । राजधानी काठमाडौं वायू प्रदुषण र ध्वनी प्रदुषणले आहत छ । यहाँको सार्वजनिक यातायातमा यात्रुलाई अचाक्ली सकस छ । यसलाई न्युनीकरण गर्न मंगलबारबाट काठमाडौंमा लामा आकारका सुविधायुक्त विद्युतीय बस सञ्चालनमा आएको छ । यी बसमा ‘स्मार्ट यात्रा कार्ड’ लिएर यात्रा गर्ला २० प्रतिशत छुट पाइनेछ । यो वर्षभित्रै २५ वटा बस काठमाडौंमा चलाउनका लागि ल्याइने कम्पनी अध्यक्ष भेषबहादुर थापाले बताए । कम्पनीले प्रतिबस एक करोड ६२ लाख मूल्य खर्चिएको छ ।‘बिजुली बस’ पनि भनिने विद्युतीय बस सेवाको उदघाटन उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले सोमबार गरे ।
सरकारी स्वामित्वको ट्रली बस बन्द भएको एक दशकपछि निजी क्षेत्रको सुन्दर यातायातले पहिलो चरणमा दुई वटा विद्युतीय बसबाट सेवा थालेको हो । केही दिनभित्रै थप २ वटा बसले काठमाडौंमा सेवा थाल्नेछन् ।
कम्पनीले अब नेपालमा विद्युतीय सार्वजनिक सवारीको युग सुरुआत भएको घोषणा गरेको छ । साझा यातायातले पहिलो चरणमा करिब ५० वटा विद्युतीय बस ल्याउने तयारी गरिरहँदा सुन्दर यातायातले एक कदम अगाडि बढेर पहिलो विद्युतीय बस सञ्चालनमा ल्याएको हो ।