‘नौबीसे-नागढुंगा सडकको जाम पुर्ण रुपमा हट्यो’
१३ असोज, काठमाडौं । नौबीसे-नागढुंगा सडकको सवारी आवागमन सहज बन्न थालेको छ । लगातारको जामबाट यात्रुले सास्ती खेपेपछि प्रहरीले अप्रेसन टोली नै परिचालन गरेको छ ।
जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार, शनिबारदेखि सुध्रँदै गएको नागढुंगा-नौबीसे सडक खण्डमा अहिले जाम छैन । सोमबार बिहानैदेखि जाम पूर्णरूपमा हटेको र सवारी साधनहरु सहज ढंगले गन्तव्यतर्फ अघि बढेको कार्यालयको भनाइ छ ।‘सोमबार बिहानैदेखि नौबीसे-नागढुंगा सडक खण्डमा कुनै जाम छैन । सहज रूपमा सवारी आवागमन भइरहेको छ’, जिल्ला प्रहरी कार्यालय धादिङले सोमबार बिहान सडकको पछिल्लो अपडेट सार्वजनिक गर्दै भनेको छ ।
दशैंको मुखमा जीर्ण सडक मर्मत नगरिँदा देशकै लाइफलाइन मानिने नौबीसे-नागढुंगा सडक केही दिन अस्तव्यस्त बनेको थियो । यात्रुहरूले यो खण्डमा दिनमै १२ घण्टासम्म जाम व्यहोरेका थिए । जामकै कारण एक बिरामीको ज्यानसमेत गएको थियो ।