कांग्रेसका उपसभापति निधिले भने कांग्रेस हिन्दू राज्यकाे पक्षमा छैन
काठमाण्डौ – प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका उपसभापति विमलन्द्र निधिले आफ्नो पार्टी देशलाई हिन्दू राज्य नामाकरण गराउने पक्षमा नरहेको स्पष्ट पार्नु भएको छ । पार्टीका महामन्त्री डा. शशांक कोइरालाले हिन्दू राज्यको पक्षमा वकालत गरिरहेका बेला उपसभापति निधिले भने हिन्दू राज्य नामाकरण गराउने पक्षमा आफ्नो पार्टी नरहेको प्रष्टयाउनु भएको हो ।
बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उहाँले संविधान निर्माणको नेतृत्वको गरेको आफ्नो पार्टी धर्म निरपेक्ष राज्यको मान्यतालाई स्वीकार गरेर अघि बढिरहेको पनि स्मरण गराउनु भयो । उहाँले नेपाली कांग्रेसको चार तारे झण्डाको एउटा मान्यता धार्मिक स्वतन्त्रता भएको र धर्म निरपेक्षता पनि त्यसैको परिपूरक भएकाले कांग्रेस त्यही मान्यतामा अडिग रहेको पनि तर्क गर्नुभयो । उपसभापति निधिले राज्यलाई हिन्दू राज्य नामाकरण गराउने मान्यतामा कांग्रेस नरहेको पटक–पटक दोहोर्याउनुभयो ।
रासस