सरकारसँग दरबन्दीअनुसार डाक्टर खटाउन आग्रह
डडेल्धुरा -डडेल्धुराका स्थानीय तहका जनप्रतिनिधिले सरकारसँग दरबन्दीअनुसार डाक्टर खटाउन आग्रह गरेका छन्।जिल्ला प्रशासन कार्यालयमा आइतबार बसेको स्थानीय तहका प्रमुख र जिल्लास्थित सरोकारवालाको बैठकले सरकारसँग दरबन्दीअनुसार डाक्टर तथा स्वास्थ्यमर्की खउटान आग्रह गरेको हो। जिल्लाको परशुराम नगरपालिका ८ मा झाडापाखालाकाे महामारी भएकाले जिल्लाका अन्य स्थानहरूमा समेत विभिन्न सरुवा रोग तथा महामारी फैलिन सक्ने सम्भावना रहेकाे देखिन्छ।
सरोकारवालाको बैठकले जिल्लाका विभिन्न अस्पताल र स्वास्थ्य संस्थामा डाक्टर तथा स्वास्थ्यकर्मी नहुँदा समस्या भएको बैठकको निस्कर्ष छ। जिल्लाका डडेल्धुरा अस्पताल, जोगबुडा अस्पताल तथा स्वास्थ कार्यालय डडेल्धुरा र बिभिन्न स्थानीय तहहरूमा कार्यरत डाक्टर तथा स्वास्थ्यकर्मीहरू समायोजनका कारण अन्य स्थानमा रमाना भई जाने क्रममा रहेकाे छ।
रमाना भई नसकेकाले डाक्टर तथा स्वास्थ्यकर्मीको संख्या दरबन्दीको तुलनामा अत्यन्त कम र कतिपय स्वास्थ्य संस्थामा कुनै पनि स्वास्थ्यकर्मी नरहने अवस्था सिर्जना भएको छ। डडेल्धुरा अस्पताल, जोगबुडा अस्पताल र जिल्लाका अन्य स्वास्थ्य संस्थाहरूमा दरबन्दी बमोजिमका डाक्टर तथा स्वास्थ्यकर्मीहरूलाई तुरुन्त खटाइ पठाइदिन स्वास्थ्य तथा जनसंख्या मन्त्रालय काठमाडौं र सामाजिक विकास मन्त्रालय सुदूरपश्चिम प्रदेश धनगढीलाई अनुरोध गरिएको जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडलले जानकारी दिए।
परशुराम नगरपालिका ८ मा फैलिएको झाडापाखाला नियन्त्रण बाहिर नरहेकाे छ। समयमै सतर्कता अपनाउन नसकिएको खण्डमा उक्त स्थान र जिल्लाका अन्य स्थानहरूमा समेत झाडापाखाला लगायतका अन्य महामारी फैलिन सक्ने र भयावय स्थिति समेत आउन सक्ने देखिन्छ। यसप्रति समयमै पर्याप्त औषधिसहितका डाक्टर तथा स्वास्थ्यकर्मीको प्रभावकारी परिचालन गर्नेतर्फ सम्बन्धित निकायहरूलाग्नुपर्ने देखिन्छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, सामाजिक विकास मन्त्रालय सुदूरपश्चिम प्रदेश, स्वास्थ्य निर्देशनालय, डडेल्धुरा-जोगबुडा अस्पताल, स्वास्थ्य कार्यालय डडेल्धुरा र विभिन्न स्थानीय तहहरूमा रहेका स्वास्थ्य संस्थाहरूलाई अनुरोध गर्ने निर्णय भएको प्रजिअ पौडेलले बताए।
परशुराम नगरपालिका ८ मा रहेका खानेपानीको स्रोतलाई प्रदुषणरहित रुपमा स्वच्छ पानी वितरण गर्ने व्यवस्था मिलाउन खानेपानी डिभिजन कार्यालय डडेल्धुरा र भौतिक पूर्वाधार विकास मन्त्रालय सुदूरपश्चिमलाई आग्रह गरिएको छ। जिल्लाको भित्री मधेसमा पर्ने परशुराम नगरपालिका ८ जमरानीमा साउन २९ गतेदेखि गम्भीर खालको झाडापखाला ‘हैजा’ को प्रकोप देखिएको थियो।
झाडापखाला ‘हैजा’ को प्रकोपबाट आइतबारसम्म ८८ जना व्यक्ति प्रभावित भएको थिए। सो क्षेत्रमा प्रकोप देखिएपछि सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार मन्त्री पठानसिंह बोहरासहितको टोली गत बिहीबार उक्त प्रभावित क्षेत्रमा पुगेका थिए। नगरपालिकाअन्तर्गत ८ को सानखोला, धादलीफाटा र गुप्तेगाडामा हैजाको महामारी फैलिएको खबर संचार माध्यममा आएपछि मन्त्री बोहरासहित त्यसतर्फलागेका थिए।
साथमा डडेल्धुराका प्रमुख जिल्ला अधिकारी तथा सम्पूर्ण सुरक्षा निकाय, परशुराम नगरपालिका नगरप्रमुख र चिकित्सकको टोली प्रभावित क्षेत्रमा पुगेको थियो।