कैलालीका एक युवक विगत एक सय आठ दिनदेखि यता तपस्यामा
कैलाली १० भदौ । कैलालीका एकजना युवक एक सय आठ दिनदेखि तपस्यामा बसेका छन् । जिल्लाको गोदावरी नगरपालिका वडा नम्वर १ बसन्तपुरका विलियम मिजार अन्न नखाएरै विगत एक सय आठ दिनदेखि जंगलमा तपस्यामा बसेका हुन् ।
गत बैसाख २८ गते देखी गौरीगंगा नगरपालिका वडा नम्बर ६ मा रहेको बाह्रवनमा आफूलाई सत्यम् नामले चिनाउँदै मिजार तपस्यामा बसेका हुन् । पूर्व पश्चिम राजमार्ग अन्तरगत गौरीगंगा नगरपालिका ६ को बनबेहेडादेखि झण्डै ३ किलोमिटर भित्र पर्ने बाह्रवनमा तपस्या गरिरहेका उनलाई घर फर्काएर लगेका थिए तर फेरी फर्किएर तपस्यामै बसेका हुन् ।
पहेलो वस्त्रको पहिरनमा रहेका युवकले अन्न नखाएर भगवान गौतम बुद्धको ध्यान गर्दै आएको बताईएको छ । उनले आफुले ध्यानकै क्रममा ईश्वरबाट निर्देशन पाउने र सोही अनुसार काम गर्ने बताउने गरेको परिवारका सदस्यहरु बताँउदछन् ।
यस अघि काठमाडौमा बाईवलको अद्ययन समेत गरेका विलियमले वाईवलको अद्ययन छोडी लुम्बिनि ध्यान गरेर फर्किएको उनका आफन्तले बताएका छन् । त्यँहाका स्थानियहरुका अनुसार सुरुको ५ दिन सम्म पानी समेत नखाई ध्यानमा बसेका उनले अहिले ध्यानवाट बाहिर आएपछि बेलुका पख पानी र केहि फलफुल खाने गरेको भएपनि एक सय आँठ दिन पुगिसक्दा पनि अन्नलाई छोएका समेत छैनन् ।
सुरुमा लुम्बिनिबाट नै भगवान गौतम बुद्धको मुर्ति आफै बनाएर ल्याई जंगलभित्र आफ्नो केही भागलाई गोलघेर बनाई भगवान गौतम बुद्धको मुर्ति त्याँहा राखेर उनी तपस्यामा बसेका थिए ।