फसाउन खोजिएकै हो त रविलाई ?
न्युज २४ टेलिभिजनकोचर्चित टेलिभिजन प्रस्तोता रवि लामिछाने यतिबेला चितवन प्रहरीको थुनुवा कक्षमा छन् । उनी आफैँले चलाउने ‘सिधाकुरा जनतासँग’ कार्यक्रमका पूर्वसहकर्मी पत्रकार शालिकराम पुडासैनीलाई आत्महत्या गर्न दुरुत्साहन गरेको अभियोगमा अनुसन्धानको क्रममा उनी पक्राउ परेका हुन् । आत्महत्यापूर्व पुडासैनीले भिडियो रेकर्डमा रविसँगै पूर्वसहकर्मी युवराज कँडेल र नर्स अस्मिता कार्कीले बारम्बार दिएको ‘टर्चर’का कारण आफू आत्महत्या गर्न बाध्य भएको बताएका छन् । एक वर्षअघिसम्म मुलुकमा आत्महत्या दुरुत्साहनसम्बन्धी कानुन थिएन । गत वर्षको भदौ १ गतेदेखि कार्यान्वयनमा आएको सोही कानुनलाई टेकेर प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो । आत्महत्या गरेका पुडासैनी पनि पत्रकार थिए । दुरुत्साहनको अभियोग लागेका रवि झन टेलिभिजनका चर्चित प्रस्तोता नै हुन् । त्यसैले पनि यो प्रकरणमा सर्वसाधारणको चासो जोडिएको छ । तर, प्रहरीले अनुसन्धानको प्रक्रिया थालिसकेको र अदालतसम्म पुगिसकेकाले न्यायिक प्रक्रियामा विश्वास गरी राज्यका संयन्त्रहरूलाई आआफ्नो काम गर्न दिनुपर्दछ । सडकबाटै सबै कुराको फैसला गर्न खोजियो भने कञ्चनपुरकी अबोध बालिका निर्मला पन्तको बलात्कार र हत्याको घटनाका दोषीले उन्मुक्ति पाएजस्तै अवस्था यो प्रकरणमा पनि नहोला भन्न सकिँदैन । यति चर्चित मुद्दा र यति धेरै मान्छेले चासो राखेको विषयमा प्रहरीको मौनता आश्चर्यजनक छ । यसले प्रहरीमाथिको विश्वसनियतामाथि प्रश्न उठाउन सर्वसाधारण बाध्य भइरहेका छन् । त्यसैले प्रहरीले भिडियो सार्वजनिक भएको विषयको गम्भीर छानबिन गरी यसमा संलग्नलाई सार्वजनिक गर्नुपर्दछ । किनभने, उक्त भिडियो सार्वजनिक गर्नेहरुको नियत रवि लामिछानेलाई हत्याकाण्डमा फसाउने देखिन्छ । अहिलेको विवाद पनि रवि पक्राउ परेसँगसँगै उक्त भिडियो कसले, किन, केका लागि सार्वजनिक गरे भन्ने प्रश्न उठेको छ ।