मन्त्रीको टोली हैजा प्रभावित क्षेत्रमा, बिरामीको संख्या ८५ पुग्यो
काठमाण्डौ – डडेल्धुराको भित्री मधेसमा पर्ने परशुराम नगरपालिका–८ जमरानीमा गम्भीर खालको झाडापखाला ‘हैजा’ को प्रकोप देखिएपछि सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार मन्त्री पठानसिंह बोहरासहितको टोली उक्त प्रभावित क्षेत्रमा पुगेको छ । नगरपालिका अन्तर्गत वडा नम्बर ८ को सानखोला, धादलीफाटा र गुप्तेगाडामा हैजाको महामारी फैलिएको खबर संचारमाध्यममा आएपछि शुक्रबार मन्त्री बोहरासहित डडेल्धुराका प्रमुख जिल्ला अधिकारी तथा सम्पूर्ण सुरक्षा निकाय, परशुराम नगरपालिका नगरप्रमुख र चिकित्सकको टोली प्रभावित क्षेत्रमा पुगेको हो ।
हैजाको प्रकोप अत्याधिक भएको खबर पाएपछि औषधिसहित टोली उक्त प्रभावित क्षेत्रमा पुगेको डडेल्धुरा प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले जानकारी दिए । ‘अहिले अनुगमन भइरहेको छ, अनुगमनबाट केही न केही निश्कर्ष निकाल्ने छौँ,’ उनले भने । दुषित खानेपानीको कारण हैजा फैलिँदा ती गाउँमा ८५ जना बिरामी परेका छन् । ती सबै बिरामीमा गम्भीर खालको झाडापखाला अर्थात ‘हैजा’ देखिएको साँदनी स्वास्थ्य चौकीका प्रमुख आनन्दकुमार यादवले पुष्टि गरेका छन् ।
रासस