काश्मिरमा कर्फ्यू , पूर्वमुख्यमन्त्रीहरुसहित नेताहरु नजरबन्दमा, सर्वसाधारणलाई हिँडडुलमा राेक
काठमाण्डौ – भारत प्रशासित कश्मीरमा तनाव चुलिँदो छ। उक्त क्षेत्रका क्षेत्रका कयौं नेतालाई सोमबार बिहानैदेखि नजरबन्दमा राखिएको छ। स्थानीय प्रशासनले कश्मीरमा सुरक्षा सतर्कता बढाउँदै कयौं प्रभावशाली नेताहरुलाई नजरबन्दमा राखेको हो। नजरबन्द्यमा रहेका नेतामा नेशनल कन्फ्रेन्सका नेता तथा पूर्व मुख्यमन्त्री उमर अब्दुल्ला, पीडीपी अध्यक्ष तथा पूर्व मुख्यमन्त्री महबुबा मुफ्ती, जम्मु कश्मीर पिपल्स कन्फ्रेन्सका अध्यक्ष सज्जाद लोनलाई लगायतलाई उनीहरुकै निवासमा नजरबन्द गरिएको हो। यस अतिरिक्त श्रीनगरमा हिँडडुल गर्न सर्वसाधारणलाई समेत रोक लगाउने गरी ‘धारा १४४’ लागू गरिएको छ। उक्त व्यवस्थासँगै शैक्षिक संस्था बन्द गरिएको छ भने श्रीनगरसहित कश्मीरमा मोबाइल इन्टरनेट सेवा बन्द गरिएको छ।
पूर्व मुख्यमन्त्री अब्दुल्लाले सर्वसाधारणलाई संयमता अपनाउन आह्वान गरेका छन्। पूर्व मुख्यमन्त्री मुफ्तीले नजरबन्दमा राखिएकोमा आपत्ति जनाउँदै जम्मु कश्मीरको आवाजलाई दबाउने प्रयास भइरहेको बताएकी छन्। उता, पाकिस्तानले पनि कश्मीरमा भइरहेको घटनाक्रमलाई मध्यनजर गर्दै सुरक्षा सतर्कता बढाएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले मन्त्रीपरिषदको आकस्मिक बैठक बोलाएका छन्। माेदी निवासमा हुने बैठकका लागि गृहमन्त्री अमित शाह, रक्षा मन्त्री राजनाथ सिंह लगायत माेदी भवन पुगिसकेकाे भारतीय सञ्चारमाध्यमले जनाएका छन्। मन्त्रिपरिषद्को बैठकले जम्बुका बारेमा ठूलो निर्णय लिन सक्ने भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
पाकिस्तान र अन्तर्राष्ट्रिय समुदायले अफगानिस्तानमा जारी संघर्षको स्थायी समाधान खोजिरहेको समयमा नै भारतले कश्मीरको स्थायी शान्ति बिथोल्न थालेको पाकिस्तानको आरोप छ।
रासस