आज भाद्र कृष्ण जन्माष्टमी पर्व हिन्दु धर्मालम्बीहरूले ठाँउ ठाँउ मनाइदैं
काठमाडौँ ६ भाद्र । आज भाद्र कृष्ण अष्टमी भाद्र कृष्ण अष्टमीका दिनमा प्रत्येक वर्ष मनाइने श्रीकृष्ण जन्माष्टमी पर्व आज भगवान् श्रीकृष्णको पूजा आराधना गरी मनाइँदैछ । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगको अन्त्यतिर भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएको सम्झनामा आजको दिनमा श्रीकृष्ण जन्माष्टमी पर्व मनाउने गरिएको हो ।
आजको दिन धार्मिक प्रवचन, पूजापाठ तथा श्रीकृष्ण्को रथयात्रा गर्ने र झुला झुलाउने पनि गरिन्छ । आज दिनभर भक्तहरु उपवास बसी मध्यरातमा कृष्णको प्रतिमालाई पूजा गरी भजन कृतन गाउने गर्दछन् । कृष्ण भगवानको पूजा विशेषगरी कुमारी केटी तथा महिलाहरुले गर्ने गर्दछन् । कृष्णको आफ्नै मामा कंश जो राजा थियो । उसले गरेका अत्याचारले मानिसहरू आजित भएकाले उसलाई आफ्नै आठौं सन्तानको रूपमा जन्मने भान्जले मार्ने कुरा आकाशवाणी भएपछि कंशले आप्नै बहिनी देवकीलाई सुत्केरी हुने थाहा पाउंदासाथ बन्दी बनाउंथ्यो र जन्मने वित्तिकै पछारेर मार्न लगाउंथ्यो । तर कृष्णलाई भने मार्न सकेन । आफनै बन्दीखानाबाट कृष्णलाई बचाइयो र अन्तै लागियो । पछि कृष्णले नै कंशलाई मारेर जनतालाई मुक्ति दिलाए भन्ने कथा छ । खासगरी महाभारत युद्धमा कृष्णको विशेष भूमिका देखिन्छ ।
कृष्ण अष्टमीका अवसरमा बिहानैदेखि कृष्ण मन्दिरमा भक्तजनहरुको भिडभाड लागेको छ । पूजा आराधना गर्नका लागि उपत्यकालगायत आसपासका ठाउँहरूबाट हजारौं दर्शनार्थीको घुइंचो लागेको छ ।